
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
मङ्गलवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन् ।
सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । शिक्षकहरूले आन्दोलन जारी राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ ।
शिक्षामन्त्री राजीनामासँगै शिक्षकहरूको मागहरु सम्बोधन हुन अझै हसहज देखिएको छ । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ ।
सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरू विश्वस्त छैनन् ।
सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने उनीहरूको भनाइ छ ।