
झापा । भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा गएको फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको प्रगतिको समीक्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुबीच दुई देशबीच स्वच्छ व्यापार र रक्षा साझेदारी वृद्धि गर्ने विषयमा छलफल भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित २६ प्रतिशतको उच्च आयात करबाट जोगिन अमेरिकासँग सक्दो छिटो व्यापार सम्झौता गर्न र ट्रम्प प्रशासनसँगको सम्बन्ध बलियो बनाउन प्रयत्नरत दिल्लीका लागि भान्सको भ्रमण एउटा राम्रो अवसर भएको बताइएको छ ।
उपराष्ट्रपति भान्स भारतको चार दिने भ्रमणका लागि परिवारसहित हिजो नयाँ दिल्ली पुगेका हुन । भारतमा रहँदा भान्स परिवारले ताजमहलको भ्रमणका साथै जयपुरमा हुने एउटा वैवाहिक कार्यक्रममा पनि सहभागिता जनाउने खबरमा उल्लेख छ ।