२०८२ वैशाख ९, मङ्गलवार , ०९:५६:४५ बजे

Sajhamanch
'

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन ७०० पर्यटकको आगमन

मङ्गलवार, वैशाख ९, २०८२

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । हिजो मात्रै करिब ७०० पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार हिजो ६९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । श्रेष्ठले नाम्चेको यात्रामा ६५२ विदेशी र १५१ जना नेपाली रहेका बताए।

वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउनसमेत मुश्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताए।

मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एअर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिए।

खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए।

कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेका उनले जानकारी दिए।

उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् । खुम्बु क्षेत्रमा आएका धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका उनको भनाइ छ । स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेसँगै निकुञ्जको राजस्व सङ्कलन बढेको छ ।

सम्बन्धित खबर