२०८२ वैशाख ७, आइतवार , १०:२१:५३ बजे

Sajhamanch
'

इटहरीमा कार दुर्घटना : १ जनाको मृत्यु, चालकसहित ३ जना घाइते

आइतवार, वैशाख ७, २०८२

विराटनगर । सुनसरी धरानबाट आउँदै गरेको कार इटहरीको पानीपियामा शनिवार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कोशी लोक मार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० पानीपिया जङ्गलमा प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर राति ११ बजेतिर सडकबाट पूर्वतर्फ रहेको जामुनको रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

४ जना सवार रहेको कार दुर्घटनामा परेर कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको डीएसपी खतिवडाले जानकारी दिए ।

गम्भीर घाइते भएका राउतलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारकै क्रममा करिब डेढ घण्टापछि राउतको मृत्यु भएको खतिवडाले बताए ।

प्रहरीका अनुसार दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । सामान्य अवस्थाका घाइतेहरूको बिपीमै उपचार भइरहेको छ ।

सामान्य उपचारपछि कार चालक लामालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार घटनास्थल इटहरीको तरहरा चोकबाट करिब ७ किलोमिटर उत्तरमा पर्छ ।

सम्बन्धित खबर