
काठमाडौं । रुघाखोकीबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । सरकारी अस्पताल, मेडिकल कलेज र निजी अस्पताल एवम् क्लिनिकमा समेत बिरामीको चाप छ ।
रुघाखोकी लागेमा हप्ता दिनमा निको हुने गरेकामा पछिल्लो समय दुई हप्ताभन्दा धेरै समय लाग्ने गरेको छ ।
चितवनको भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा. प्रकाश खतिवडाका अनुसार हरेक तीन वर्षमा इन्फ्लुएञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने हुन्छ । इन्फ्लुएञ्जालाई बोलिचालीको भाषामा फ्लू भनिन्छ ।
प्रायः यसबाट देखा पर्ने लक्षणहरू नाकबाट पातलो सिँगान बग्ने, टाउको, घाँटी र मांसपेसी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने हुन्छन् ।
डा। खतिवडाले अहिले रुघाखोकी लागेका बिरामीलाई निको हुन दुई हप्ताभन्दा धेरै समय लाग्ने गरेको बताए। रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन धेरै समय लाग्ने गरेको उनी बताउछन्।
वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा. डा. शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउछन्। विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीलाई जोखिम धेरै हुने भएकाले सचेत रहन उनको जोड छ ।
अहिलेको मौसम, वायु प्रदूषण, भोजभतेर, राजनीतिक समर्थन र विरोधका कार्यक्रममा हुने भीडभाडमार्फत पनि सङ्क्रमण फैलिएको डाक्टरले बताएका छन् ।
कोरोना सङ्क्रमणका बेला अपनाइएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन, सकेसम्म मास्कको प्रयोग गर्न, भीडभाडमा नजान डाक्टरको सुझाव छ ।