
झापा । पप गायिका केटी पेरीसहित सबै ६ जना महिला लगभग ११ मिनेट लामो अन्तरिक्ष यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् ।
पप गायिका केटी पेरीसहितको टोली गीत गाउँदै अन्तरिक्षमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।
विभिन्न क्षेत्रका ६ जना महिलाको समूह बोकेको यानले प्रतिघण्टा २ हजार ३०० माइलको अधिकतम गतिमा यात्रा गरेको छ ।
यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो । यस टोलीमा पप गायिकासहित समूहको नेतृत्व गर्ने लरेन सान्चेज, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्व नासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिन थिए ।
६ जना महिलाको टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ’न्यू शेपर्ड रकेट’ मार्फत अन्तरिक्षमा पठाएको हो ।
सन् १९६३ पछि पहिलो पटक सबै महिलामात्र सहभागी टोलीले अन्तरिक्ष यात्रा गरेको हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभाले अन्तरिक्ष यात्रा गरेका थिए।
महिलाको टोलीले पृथ्वी र अन्तरिक्ष बीचको काल्पनिक सीमा अर्थात कर्मन रेखा पार गरेका छन् जुन पृथ्वीको वायुमण्डलबाट धेरै टाढा छ ।
महिलाहरुले न्यू शेपर्ड–३१ नामक यस मिसनमा ब्लू ओरिजिनको पूर्ण रूपमा स्वचालित न्यू शेपर्ड रकेटमा यात्रा गरेका हुन् ।