
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि सबै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार मुगु जिल्लाका दुई वटा पालिकाबाहेक अरू सबै पालिकाका बिक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको छ । केन्द्रले एक करोड ७० लाख ५० हजार ९०० थान पाठ्यपुस्तक छापेको थियो ।
कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका वितरण केन्द्रहरू वा सम्बन्धित पालिकाको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न जनक शिक्षाले अनुरोध गरेको छ ।
देशभर रहेका सूचीकृत बिक्रेताहरूले नयाँ शैक्षिक सत्र शुरु हुनु अगावै सबै विद्यालयमा छिटो छरितो पाठ्यपुस्तक पुग्ने वातावरण बनाउन समेत केन्द्रको आग्रह छ ।