
झापा । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । अमेरिका र चीनको व्यापार युद्धको चर्चा र चिन्ता बढ्दै गएका बेला लगानीकर्ताहरू सुरक्षित हुने भन्दै सुनमा आकर्षित भएसँगै मूल्य आकाशिएको बीबीसीले उल्लेख गरेको छ ।
एशियाली शेयर बजार आज चार प्रतिशतभन्दा धेरै घटेपछि सुनको मूल्यले कीर्तिमान बनाएको छ । अमेरिकी शेयर बजार पनि घटेको छ । पछिल्लो कर नीतिले अमेरिका–चीनको अहिलेको आर्थिक प्रतिस्पर्धा व्यापार युद्धतर्फ जानसक्ने खतराबारे धेरै चर्चा हुन थालेको छ ।
अमेरिकाले चीनलाई १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशतसम्म ‘ट्यारिफ’ लगाउने घोषणा गरिसकेको छ । यसको प्रतिक्रिया स्वरूप चीनले अमेरिकाबाट आयात हुने सामानमा ८४ प्रतिशत कर लगाइसकेको छ ।