२०८१ चैत ३०, शनिवार , ०३:५८:५३ बजे

Sajhamanch
'

भारतीय पर्यटकलाई कोशीका नाकामा सुरक्षा जाँच कार्ड

शुक्रवार, चैत २९, २०८१

विराटनगर । २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको कोशी प्रदेश सरकारले भारतीय पर्यटकको सहजताका लागि भन्दै नाकामा सुरक्षा जाँच कार्ड बाँड्ने भएको छ । पर्यटकका सवारीलाई सीमा नाकाबाहेक बाहिर सुरक्षा जाँच नगर्ने गरी नाकामा सुरक्षा जाँच र रुट परमिट कार्ड आजबाट वितरण थालिएको हो ।

भारतीय पर्यटकले नेपालमा धेरै स्थानमा सुरक्षा जाँचका नाममा दुःख दिने गरेको गुनासो गरेका थिए । पर्यटन वर्ष मनाउने घोषणा गरेको सरकारले पर्यटक भित्र्याउनका लागि रुट परमिट र सुरक्षा जाँचको कार्ड बाँड्ने योजना ल्याएको हो ।

नेपाल प्रवेश गर्ने नाकामा स्टिकर टाँसेपछि पर्यटक बस वा अरु भारतीय सवारीलाई अन्य स्थानमा सुरक्षा जाँचका लागि रोकिनुपर्ने छैन । यसरी बाँडिने कार्डमा ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, विदेशी सवारीसाधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड’ लेखिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाका अनुसार भारतीय पर्यटकको सहजताका लागि विराटनगरको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपति नगर र सुनसरीको कोशी पुलमा छुट्टै युनिट राखेर सुरक्षा जाँचपछि सुरक्षा जाँच र परमिटको कार्ड वितरण गरिने छ । कार्डमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कोशी प्रदेश प्रहरी कार्यालयको सम्पर्क नम्बर राखिएको छ ।

कार्डमा गाडी नम्बर, नेपाल प्रवेशको समय, पुग्ने गन्तव्य, सवारी चालकको नाम, गाडीमा सवार यात्रु संख्या, प्रवेश नाका, बाहिरिने नाका र नेपालमा बस्ने समयावधि उल्लेख गरिएको छ ।

नाकामा १ पटक विवरण उल्लेख गरेको सवारीलाई प्रदेशका अन्य क्षेत्रमा चेकजाँच नहुने उनले बताए । चैत २७ गतेबाट सुरु कोशीको पर्यटन वर्षमा १० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ ।