
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका सबैजसो ठाउँमा पानी परेको छ । हिउँद सुक्खा भएको र प्रि–मनसुनमा समेत पानी पर्न नसकिरहेको अवस्थामा हिजोदेखि भने देशका सबैजसो ठाउँमा पानी परेको हो । केही ठाउँमा अत्यधिक वर्षासमेत भएको छ ।
इलाममा पछिल्लो १२ घण्टामै १० मिलिमिटर पानी परेको छ । यस्तै १२ घण्टामा सर्लाहीमा ८९, पर्सामा ७३, उदयपुरमा ७१, सप्तरीमा ६६ र रौतहटमा ६५ मिलिमिटर पानी परेको छ । काठमाडौंको कीर्तिपुरमा पनि १२ घण्टामा २६ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेसँगै नेपालमा पानी परेको र यो प्रभाव आउँदो शनिवारसम्म रहने पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले बताए।
अहिलेको पानी परेपछि मकै, तरकारीलगायतको खेतीका लागि सहयोगी भएको किसानहरू बताउँछन् । अलैँची, सुन्तलालगायतका नगदेबालीको सिँचाइका लागि पनि यो वर्षा महत्त्वपूर्ण भएको छ ।
कृषिमा सिँचाइसँगै यो वर्षाले डढेलो र वायु प्रदूषण गरी दुई वटा ठूला विपद्को जोखिमलाई घटाएको छ । नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टरको तथ्याङ्कानुसार सोमवार देशका २१४ ठाउँमा डढेलो लागेकोमा पानी पर्न शुरू भएसँगै मङ्गलवार ५२ र हिजो ६० ठाउँमा मात्रै डढेलो लाग्यो । अहिले नौ ठाउँमा मात्र डढेलो देखिएको छ । पानी कम परेको पश्चिम तराईमा मात्रै डढेलो देखिएको हो भने बाँकी ठाउँमा निभेको छ ।
यस्तै एक हप्ताभन्दा बढी समयदेखि उकुसमुकुस बनाइरहेको वायु प्रदूषण पनि घटेको छ । देशका अरू ठाउँको वायु प्रदूषण अस्वस्थ अवस्थाबाट तल झरिसकेको छ भने काठमाडौं उपत्यकामा पनि अति अस्वस्थ अवस्थाबाट तल झरिसकेको छ । तर अहिलेको पानीले वायु प्रदूषण केही घटाए पनि यो दीर्घकालीन समाधान नभएको पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्याय बताउछन्।