
काठमाडौं । नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।
माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले आन्दोलन गरिरहेका छन् । मुख्य लेनमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् । तर दुवै तर्फका सहायक लेनबाट भने मंगलबारसम्म निर्वाध गाडीहरू गुडिरहेका थिए ।
तर शिक्षकहरूले बुधबार बीचको लेनसहित उत्तरतर्फको लेनमा समेत प्रदर्शन गर्यो । जसले उत्तरतर्फको लेन अर्थात् माइतीघरबाट बानेश्वर आउने सडकमा पनि गाडी गुड्न पाएनन् । बुधबारसम्म दक्षिणतर्फको लेन अर्थात बानेश्वरबाट माइतीघरतर्फ गाडी गुडिरहेका थिए ।
तर आज शुक्रबार शिक्षकहरूले दक्षिण तर्फको लेन पनि कब्जा गरेर प्रदर्शन गरेका छन् । जसका कारण बानेश्वरबाट माइतीघरतर्फ गइरहेका गाडीलाई उनीहरूले बिजुलीबजार पुलबाट अगाडि बढ्न दिएका छैनन् ।
बानेश्वर भएर माइतीघरतर्फ गइरहेको गाडीलाई शिक्षकहरूले अगाडि बढ्न नदिँदा बिजुली बजार पुल क्षेत्रमा केही बेर तनाव अवस्थाको सिर्जना भयो । प्रहरी र आन्दोलित शिक्षकहरूबीच धकेलाधकेलसम्मको अवस्था सिर्जना भयो ।
आन्दोलनकारी शिक्षकहरूले गाडी अगाडि बढ्न नदिएपछि बिजुली बजार पुगेका गाडीहरु बाध्य भएर ब्याक हुनु पर्यो । अहिले पनि तीन वटै लेन कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गरिररहेका छन् ।
शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भनिएको छ । तर वार्ताको समय भने तय भइसकेको छैन ।
सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ ।