२०८२ वैशाख ४, बिहिवार , ०७:२०:३९ बजे

Sajhamanch
'

गुराँसको राजधानीबाट ‘कोशी पर्यटन वर्ष’ को उद्घाटन

बुधवार, चैत २७, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गरेको छ ।

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गुराँसको राजधानी तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको उद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताए ।

कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै उनले ती क्षेत्रको पूर्वाधारलगायतको विकास गरेर पर्यटनमार्फत राष्ट्रिय पुँजी निर्माण गरिने बताए । स्थानीय तहको सहकार्यमा पर्यटनको विकास गर्दै कोशीलाई नमूना प्रदेशको रूपमा लैजाने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता छ ।

सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवर्धन गर्ने चाहना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै जातजाति, धर्म संस्कृतिको जगर्ना र त्यसको संरक्षणमा अघि बढ्ने उनले प्रष्ट्याए ।

पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीबुटीका क्षेत्रमा काम गर्ने बताएका छन् । कोशी प्रदेशलाई बन्द हड्तालबाट मुक्त गर्दै वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने बताउँदै उनले यसका लागि संघीय सरकारले काम गर्नुपर्ने बताए । यो प्रदेशमा बाराह क्षेत्र, हलेँसी र माङ्सेबुङ जस्तो विशिष्टकृत धार्मिक क्षेत्र रहेको जानकारी दिँदै कार्कीले धार्मिक पर्यटनबाट ठूलो लाभ लिन सकिने बताए ।

पर्यटनको पूर्वाधार र नीति नियममा पनि सबैको चासो र सरोकार रहनुपर्ने उल्लेख गर्दै यसमा सबै राजनीतिक दलको सहयोगको अपेक्षा गरे ।

सम्बन्धित खबर