२०८२ वैशाख ४, बिहिवार , ०८:१४:०१ बजे

Sajhamanch
'

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति चुनाव हुने

बुधवार, चैत २७, २०८१

झापा । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले आउँदो जुन ३ मा राष्ट्रपति पदको चुनाव हुने घोषणा गरेका छन् ।

दक्षिण कोरियाको संवैधानिक अदालतले युन सुक येओललाई राष्ट्रपति पदबाट हटाएपछि कार्यवाहक राष्ट्रपति हान–डक सुले मङ्गलवार राष्ट्रपति चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ ।

पूर्वराष्ट्रपति युनले गएको डिसेम्बरका ‘मार्शल ल’ घोषणा गरेपछि उहाँलाई संसद्ले महाभियोग लगाएको थियो । गएको हप्ता अदालतले उनको महाभियोगलाई समर्थन गरेपछि ६० दिनभित्र मध्यावधि चुनावका लागि बाटो खुलेको हो ।

कार्यवाहक राष्ट्रपति हान डक–सुले चुनावको मिति घोषणा गर्दै देशले ‘घाउबाट छिटो निको हुन’ र ‘माथि र अगाडि’ जान आवश्यक रहेको बताएको खबरमा उल्लेख छ ।

युनको ‘मार्शल ल’ घोषणाले दक्षिण कोरियालाई राजनीतिक अनिश्चिततामा धकेलेको थियो । कार्यवाहक राष्ट्रपति हानले विगत चार महिनादेखि नागरिकमा भ्रम र चिन्ता पैदा गरेकोमा तथा राष्ट्रपति पद रिक्त भएको यो दुःखद परिस्थितिको सामना गर्नुपरेकोमा क्षमा पनि माग्नु भएको छ ।

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहेका छन् । संवैधानिक अदालतले उनको महाभियोगलाई खारेज गरेपछि उनले भर्खरै पुनः काम शुरू गरेका हुन ।

नेतृत्वको अभावमा दक्षिण कोरियाले विमान दुर्घटना र देशको इतिहासमा सबैभन्दा घातक डढेलोलगायत विभिन्न सङ्कत र चुनौतीहरू भोग्नुपरेको छ ।