२०८२ वैशाख ३, बुधवार , ०८:१२:४८ बजे

Sajhamanch
'

चिया सम्मेलन गर्ने निर्णयबाट पछि हट्यो कोशी सरकार

मङ्गलवार, चैत २६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तीन वटा कार्यक्रम महत्त्वका साथ घोषणा गरेको थियो, जसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन, प्रदेश लगानी सम्मेलन र कोशी पर्यटन वर्ष २०८२ थिए ।

त्यसमध्ये कोशी पर्यटन वर्ष २०८२ को उद्घाटन बुधबार (चैत २७) मा हुने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी पर्यटन वर्ष उदघाटन गर्ने कार्यक्रम छ ।

उक्त कार्यक्रमका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै यसअघि घोषणा गरेर पनि निर्धारित मितिमा सम्पन्न हुन नसकेको प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गतेका लागि तय गरिएको छ । उक्त लगानी सम्मेलन हुन्छ या हुँदैन भन्ने स्पष्ट हुन अझै केही दिन कुर्नुपर्ने देखिन्छ ।

लगानी सम्मेलनको तयारी र प्रदेश सरकारका कतिपय अधिकारीहरू भने लगानी सम्मेलन पनि हुनेमा आशङ्का गर्छन् । लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारले महत्त्वका साथ घोषणा गरेको अर्को कार्यक्रम भनेको अन्तर्राष्ट्रिय चिया सम्मेलन हो । यो कार्यक्रम भने सरकारले औपचारिक रूपमै स्थगित गर्ने निर्णय गरिसकेको छ ।

यसअघि केदार कार्कीको नेतृत्वमा रहेको सरकारले एनआरएनएसँग सहकार्य गर्ने गरी गत आर्थिक वर्षमा यो कार्यक्रम ल्याएको थियो । त्यसबेला पनि उक्त कार्यक्रम हुन सकेको थिएन ।

यद्यपि त्यही कार्यक्रमलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै राखेका थिए । चिया सम्मेलनका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरूले प्रदेश सरकारले चिया सम्मेलन गर्न लागेको भन्दै महत्त्वका साथ सार्वजनिक मञ्चहरूमा भन्दै आएका थिए । इलामको सूर्योदय नगरपालिकामा केही समय अगाडी गरेको एक कार्यक्रममा पनि मुख्यमन्त्री कार्कीले चिया सम्मेलन गर्ने बताएका थिए ।

अहिले आएर प्रदेश सरकारले चिया तथा कफी विकास बोर्ड संघीय सरकारको भएकाले प्रदेश सरकारले खर्च गर्न सक्ने अवस्था नरहेको भन्दै यो कार्यक्रम हटाएको जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले चिया सम्मेलन ‘गोलखाडी’ गएको बताए । ‘बजेट राख्ने बेलामा चिया तथा कफी विकास बोर्डसँग गर्ने भनेको रहेछ’ उनले भने ‘त्यो हाम्रो कार्यक्षेत्रमा परेन ।’

यद्यपि बजेट भने मगर आफैँ आर्थिक मामिलामन्त्री भएको बेला आएको हो । ‘चिया तथा कफी विकास बोर्डसँग केन्द्र सरकारसँग स्वीकृति लिएर गर्ने भनेको महाभारतको कथाजस्तो भयो,’ उनले भने ।

सरकारले घोषणा गरेर कार्यक्रम गर्न नसकेको विषयमा प्रतिपक्षी दलहरूलाई भने मसला बनेको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले आफैँले ल्याएको नीति कार्यक्रम बजेट कार्यान्वन गर्न सरकारले नसकेको बताए । ‘चिया तथा कफी विकास बोर्ड प्रदेश सरकारसँग नभएर के असर गर्छ र ? यहाँको चियाको अन्तर्राष्ट्रिय बजारीकरण हुनुप‍र्‍यो । निर्यात व्यापार राम्रो हुनु प‍र्‍यो । प्रवर्द्धन गर्ने हो हामीले,’ उनले भने ।

चिया किसानले आयस्रोत राम्रो पाउन्, चियाले अन्तर्राष्ट्रिय बजार पाओस्, राज्यलाई राम्रो होस् भन्ने उद्देश्य राखेर काम गर्नुपर्ने आङ्बोले बताए । लगानी सम्मेलन पहिले नै विवादकै कारण सार्नु र चिया सम्मेलन गर्नै नसक्नु सरकारको असफलता भएको आङ्बोको दाबी छ ।

विपद्पछिको पुनर्निर्माणको काम नभएको, बजेट कार्यान्वयनमा प्रभावकारिता नदेखाएको, अघिल्ला सरकारले स्रोत सुनिश्चित गरेर ठेक्का लगाई निर्माण सम्पन्न भएका कामहरूको उद्घाटन गर्नेबाहेक थप उल्लेखनीय प्रगति वर्तमान सरकारले नदेखाएको विपक्षीहरूको आरोप छ ।

सम्बन्धित खबर