२०८२ वैशाख ३, बुधवार , १०:५०:५१ बजे

Sajhamanch
'

पाकिस्तानको दबाबमा अफगानिस्तानका नागरिक धमाधम स्वदेश फर्किन थाले

मङ्गलवार, चैत २६, २०८१

झापा । पछिल्लो समय हजारौं अफगानीहरूले पाकिस्तानबाट सीमा पार गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानले गएको महिना अफगान नागरिक कार्ड (एसीसी) बोकेका झण्डै आठ लाख अफगानीहरूलाई देश छोड्नका लागि समयसीमा तोकेको थियो । पाकिस्तानले यही अप्रिलमा उनीहरुले स्वदेश फर्किसक्नुपर्ने भन्दै दबाब दिएको थियो ।

पछिल्लो दुई दिनमा आठ हजार २५ जना कागजातविहिन र एसीसी होल्डरहरु तोरखाम र स्पिन बोल्डक सीमा पार गरेका राष्ट्रसङ्घले जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

शरणार्थी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले पाकिस्तानलाई अफगानीहरूलाई जबर्जस्ती देश निकाला नगर्न आग्रह गरिरहेको र दुवै देशबीच सहमतिसहितको उचित संयन्त्र बनाइ उनीहरूलाई सम्मानका साथ फिर्ता गरिनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार झण्डै ३० लाख अफगानीहरू पाकिस्तानमा बस्छन् र तीमध्ये धेरै आफ्नो देशमा दशकौंको युद्ध र सन् २०२१ मा काबुलमा तालिबानको सत्ता फर्केपछि त्यहाँबाट भागेका व्यक्ति हुन् ।