
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको नयाँ कर नीतिले एशियाली शेयर बजारमा धक्का पुगेको छ ।
ट्रम्पले गएको हप्ता घोषणा गरेको रेसिप्रोकल ट्यारिफ नाम दिइएको नयाँ कर नीतिले एशियाका सबैजसो ठूला बैंक, वित्तिय संस्था तथा उद्योगहरुको शेयर मूल्यमा गिरावट आएको हो ।
जापानको शेयर बजार ६ दशमलब ४३ प्रतिशतले झरेको छ । यस्तै हङकङको शेयर बजार ९ दशमलब ८, चीनको ६ दशमलव ६ तथा अस्ट्रेलियाको ४ दशमलब ५ प्रतिशतले ओरालो लागेको बीबीसीले जनाएको छ ।
यस्तै दक्षिण कोरियाको शेयर बजार ४ दशमलब ४, ताइवानको शेयर बजार ९ दशमलब ६ तथा सिंगापुरको ७ दशमलब १ प्रतिशतले ओरालो लागेको छ ।
शेयर बजार धेरै अङ्कले झर्न थालेपछि आफ्ना उत्पादन विश्व बजारमा निर्यात गर्दै आएका एशियाली देशका मोटर उत्पादक तथा अन्य कम्पनी घाटातर्फ लागेका छन् ।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफ्नो कर नीतिले विश्वव्यापी प्रभाव राम्रो परेको भन्दै मित्र राष्ट्रहरु आफ्नो कर नीतिमा मिलेर काम गर्न आतुर रहेको दाबी गरिरहेका छन् ।
उनले नयाँ कर नीतिले अमेरिका नाफातर्फ गइरहेकोले यसलाई सकारात्मक परिवर्तन मान्नुपर्ने बताएका छन् ।