२०८१ चैत २५, सोमवार , ०४:५९:०५ बजे

Sajhamanch
'

गाजामा १५ जना स्वास्थ्यकर्मी मारिएको घटनामा इजरायलले गल्ती स्वीकार्‍यो

आइतवार, चैत २४, २०८१

झापा । इजरायलले गाजामा १५ जना मेडिकल स्टाफ मारिएको घटनामा आफ्नो सेनाबाट गल्ती स्वीकार गरेको छ ।

इजरायलले गएको मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपत्कालीन कामदारहरूको हत्यामा आफ्ना सेनाहरूले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ ।

त्यस दिन रफाह नजिक प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) का एम्बुलेन्स, संयुक्त राष्ट्रसङ्घको एक कार र गाजा सिभिल डिफेन्सको एक फायर ट्रकमाथि गोलाबारी भएको थियो ।

इजरायलले ती गाडीको लस्कर अँध्यारोमा ‘शङ्कास्पद रूपमा’ हिडिँरहेको दाबी गरेको थियो । मारिएका मेडिकल स्टाफमध्ये एक जनाले आक्रमणका क्रममा आफ्नो मोबाइलमा भिडियो बनाएका थिए । त्यो भिडियोमा घाइतेहरूलाई मद्दत गर्न बोलाउँदा गाडीहरूको बत्ती बालेको देखिएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार मारिएकामध्ये कम्तीमा ६ जना प्यालेस्टिनी लडाकू समूह हमाससँग सम्बन्धित थिए । यद्यपि इजरायलले अहिलेसम्म कुनै प्रमाण दिएको छैन ।

इजरायलले आफ्ना सैनिकहरूले गोली चलाउँदा ती स्वास्थ्यकर्मीहरू निःशस्त्र रहेका पनि स्वीकार गरेको छ ।