
विराटनगर । पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने क्रम बढेकोे छ ।
भेडेटारनजिकै रहेको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे र त्यस आसपासका होटेल यतिबेला भरिभराउ हुने गरेको होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बूले बताए।
विश्वमा आएको कोभिड–१९ महामारीका कारण केही वर्ष मन्दीको सामना गर्नु परे पनि पछिल्लो समयमा यसले पहिलाकै जस्तो गति लिएको उहाँको भनाइ छ ।
प्रायः बाह्रै महिना चिसो हुने भेडेटारमा तराईको गर्मी बढ्न थालेपछि पर्यटकको सङ्ख्या बाक्लो हुने होटेल एसोसिएसन भेडेटारका पूर्वअध्यक्ष लीलाराज लावती बताउछन् । उनका अनुसार भेडेटारसहित आसपासका क्षेत्रमा सानाठुला गरी करिब २०० होटेल सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय प्रदेश सरकारले पनि यस क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न सहयोग गर्दै आएको छ । यस ठाउँमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी यस्ता पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले पूर्वाधार निर्माणमा बजेट छुट्याएर काम गर्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए।
अहिले साँगुरीगढी गाउँपालिकामा रहेको नाम्जे थुम्कीमा जनजाति पार्क निर्माण अगाडि बढेको छ । गाउँपालिकाकै ठुलो पार्कका रूपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको हो ।
थुम्कीस्थित नाम्जेमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५र७६ मा एक करोड ३५ लाख रुपियाँको लागतमा जनजाति पार्क निर्माण सुरु गरेको थियो ।
हालसम्म प्रदेश सरकारले एक करोड ४४ लाख रुपियाँ पार्कमा खर्च गरी निर्माणको काम अगाडि बढाइरहेको छ । पार्कमा एक सभा हल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि स्तम्भ बनाउने काम भएको छ । गाउँपालिकाको बजेटले पार्क निर्माण सम्पन्न गर्न असम्भव भएकोले प्रदेश सरकारले काम गरिरहेकोे साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राईले बताए ।
प्रदेश सरकारले नाम्जेमा पार्क निर्माणका लागि आव २०७८/७९ मा ७५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । यस्तै चालु आव २०७९/८० मा १० लाख रुपियाँ बजेट विनियोजन भएको थियो ।
त्यसो त अमेरिकी टेलिभिजन च्यानल सिएनएनले घुम्नैपर्ने विश्वको १२ औँ गन्तव्य सूचीमा नाम्जेलाई राखेको छ तर पार्क निर्माणका लागि तीन करोड ७७ लाख ८७ हजारसहित अन्य बौद्ध गुम्बा, अतिथिगृह र शौचालय गरी करिब आठ करोड रुपियाँ लागत अनुमानको डिपिआर तयार रहेको छ ।
यस्तै पूर्वकै प्रमुख पर्यटकीय स्थल भेडेटारबाट दुई किमी दक्षिण–पूर्वमा रहेको नाम्जे गाउँ मगर संस्कृति र होमस्टेले परिचित छ । साँगुरीगढी–६ स्थित नाम्जे प्राकृतिक रूपमा निकै आकर्षक र मनमोहक रहेको छ ।
नाम्जेलाई अमेरिकाको सञ्चार माध्यम सिएनएनले सन् २०१२ मा विश्वको १२ अनौठा गन्तव्य स्थलमध्ये आठौँ नम्बरमा राखेको थियो । नाम्जेमा रहेको होमस्टे भेडेटारबाट करिब चार किलोमिटर र समुद्री सतहबाट करिब एक हजार ५८५ मिटरको उचाइमा पर्छ ।
यस क्षेत्रबाट सूर्योदय र तराईका अधिकांश जिल्लाको मनमोहक दृश्य देख्न पाइन्छ । सडकमार्ग हँदै सजिलै यहाँसम्म आइपुग्न सक्ने भएकाले पनि यो क्षेत्र पर्यटकको मुख्य आकर्षकको केन्द्र बन्दै गएको हो ।
भेडेटारबाट रबि–राँके सडकमार्ग अन्तर्गत पर्छ, मगर जातिको सामुदायिक होमस्टे हो । यहाँ ९५ प्रतिशत मगर जातिको मात्र एकल बसोबास रहेकोे छ ।
सिजन अनुसार उसिनेको आलु, इस्कुसको जरा, मुन्टाको तरकारी र रायो साग, मकैको भात, लोकल कुखुराको मासु, बङ्गुरको सेकुवा, खसीबोकाको मासुका परिकारका साथै स्थानीय मौलिक हुर्रा नाच पनि प्रस्तुत गर्ने गरिन्छ ।
यहाँका होमस्टे व्यवसायीले मासिक करिब एक लाखदेखि एक लाख ५० हजार रुपियाँसम्मको आम्दानी हुने गरेको नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले बताए।
यस होमस्टेलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आव २०७५/७६ को उत्कृष्ट सामुदायिक होमस्टेसमेत घोषणा गरेको थियो । यहाँ घुम्न आउने पर्यटकलाई होमस्टेमा बास बस्दा न्यूनतम शुल्कमा सेवा दिन सकिने होमस्टे सञ्चालक बताउँछन् ।
प्रतिव्यक्ति एक छाक खाना र एक रात सुतेको न्यूनतम २७५ रुपियाँदेखि अधिकतम चार सय रुपियाँसम्म लिने गरिएको छ । होमस्टे सञ्चालन गरी आर्थिक उपार्जन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले अवलोकनमा आएको र यहाँ आफ्नै गाउँघरमा खाए जस्तै अर्गानिक खाना पाइएको आन्तरिक पर्यटक बताउँछन् ।
होमस्टेमा विशेष गरी तराईका झापा, मोरङ, सुनसरी, उदयपुरलगायतका देशका विभिन्न ठाउँबाट पर्यटक घुम्न र बस्न आउने गरेका छन् । प्रायः हप्ताको शुक्रबार र शनिबारका साथै बिदाको दिन बढी मात्रामा होमस्टेमा पर्यटक बस्न आउने गरेका छन् ।
नाम्जे होमस्टेमा आउने पर्यटकले नाम्जेको आत्मा बस्ने घर, सूर्योदय बौद्ध विहार, जनजाति पार्क, नाम्जे थुम्कीडाँडा वरिपरि रहेका टावर, नाम्जेडाँडाबाट तराईका समथर भूभागलगायत अवलोकन गर्न सक्छन् ।