
काठमाडौं । गुल्मीको किरण पुस्तकालय तम्घासले प्रदान गर्ने यस वर्षको जानकी साहित्य पुरस्कार कवि तथा समालोचक डा. टङ्क पन्थलाई प्रदान गरिने भएको छ ।
छत्रकोट गाउँपालिका दिगामका पन्थलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको किरण पुस्ताकालयका उपाध्यक्ष एवम् पुरस्कार छनौट समितिका संयोजक दीन पन्थीले जानकारी दिए।
नेपाली कविता तथा समालोचना विधामा पन्थले गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको संयोजक पन्थीले बताए।
हरेक वर्ष रामनवमीको अवसर पारेर घोषणा गरिंदै आएको पुरस्कार मोती जयन्तीको अवसरमा प्रदान गर्ने गरिन्छ । पन्थ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुख समेत हुन।
साहित्यमा रुचि राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको सम्झनामा उहाँको परिवारले स्थापना गरेको पुरस्कार किरण पुस्तकालयको समन्वयमा गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जनामा लग्ने सर्जकलाई हरेक वर्ष प्रदान गरिंदै आएको छ ।
साहित्यकार, समाजसेवी एवम् महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनु भएकी ज्ञवालीको २०७३ साल मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो । प्रतिष्ठानको नाममा किरण पुस्तकालय गुल्मीमा दुई लाख एक हजार १५१ रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।