
काठमाडौँ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशन आजै मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।
गत माघ १८ गते शुक्रबारबाट सुरु भएको अधिवेशन चैत १९ गतेसम्म चल्यो । अधिवेशन चलेको ६१ दिनमध्ये २५ दिनमा २७ वटा बैठक बसेका छन् ।
जसमा ११८ घण्टा २१ मिनेट संसदीय कामकारबाही भएको संघीय संसद सचिवालयले जनाएको छ । अधिवेशन अवधिमा अध्यादेशमार्फत आएका पाँच प्रतिस्थापन विधेयक पारित भएका छन् भने फागुन ४ र चैत ७ मा प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् ।
सभाको यस अधिवेशनमा प्रतिनिधि सभामा १२ र एक गैरसरकारी विधेयक दर्ता भएकोमा पाँच वटा विधेयक दुवै सदनबाट पारित भएका छन् भने चार वटा समितिमा विचाराधीन छन् ।
सचिवालयका अनुसार ३ वटा विधेयक सभामा प्रस्तुत मात्र भएका छन् ।