
झापा । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ वटा रुख कटानको प्रक्रिया अघि बढेको छ ।
वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रुख कटान कार्य भइरहेको हो ।
मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित वनका रुख काट्ने अनुमति दिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुवासकुमार दत्तले बताए ।
कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ वटा रुख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ वटा रुख कटान कार्य जारी रहेको दत्तले जानकारी दिए ।
झापा र इलामको सीमावर्ती क्षेत्र हुँदै सुखानीदेखि बाहुनडाँगीको पाटापुरसम्मको ३१ किलोमिटर र सुनसरी–मोरङ क्षेत्रको ४६ किलोमिटर राजमार्ग क्षेत्रमा सडक स्तरोन्नतिको कार्यमा वन क्षेत्रका रुखहरु अवरोध बनिरहेका थिए ।
राजमार्गको पूर्वी खण्डअन्तर्गत झापा र इलाममा छ हजार १७१ वटा, सुनसरीमा पाँच हजार ५०० वटा र मोरङमा दुई हजार १६३ वटा रुख कटान हुने भएको छ ।
मोरङ जिल्लाको वन क्षेत्रभित्रका रुखहरु आगामी बैशाखभित्र कटान गरिसक्नेगरी काम भइरहेको कार्यालयका सूचना अधिकारी दत्तले बताए ।
पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कूल लम्बाई एक हजार २०० किलोमिटर रहेको छ ।
धरानदेखि हेटौँडासम्मको ३०० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको छ ।