
इलाम । प्रहरी उपरीक्षक एकनारायण कोइरालाले कमान्ड सम्हालेदेखि नै अपराध अनुसन्धानमा इलाम प्रहरी सक्रिय भएर लागेको छ । छोटो अवधिमै इलाममा जघन्य अपराधका सफल अनुसन्धानहरू भएका छन् ।
प्रहरी उपरीक्षक कोइरालाले गत माघ २३ गतेदेखि जिम्मेवारी सम्हालेका छन् । त्यसयता विगत दुई महिनाको अवधिमा विभिन्न पाँच वटा जघन्य अपराधमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न इलाम प्रहरी सफल भएको हो ।
अपराध नियन्त्रणमा प्रहरीको भूमिका महत्त्वपूर्ण पाइएको छ । कोइरालाले इलाम प्रहरीको नेतृत्व सम्हालेको भोलिपल्ट माघ २४ गते भएको हत्यामा संलग्नलाई इलाम प्रहरीले पक्राउ गरी कानुनको कठघरामा पुर्याएको छ ।
इलाम नगरपालिका-९ गोलबस्तीमा सोही ठाउँ बस्ने ३१ वर्षीय विमल खवास र इलाम नगरपालिका-१२ बस्ने २४ वर्षीय मगर माइला भनिने खड्कबहादुर लुङ्गेलीले ३२ वर्षीय मिलन सुनुवारलाई कुटपिट गरी हत्या गरेका थिए ।
कुटपिट गर्ने अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष टोलीले तदारुकताका साथ खोजतलास गरी माघ २७ गते पक्राउ गरेको थियो ।
पछिल्लो पटक आफ्नै गर्भवती श्रीमतीलाई हत्या गर्ने फाकफोकथुम गाउँपालिका-३ सल्लेरी बस्ने उमेश गिरीलाई पक्राउ गरी इलाम प्रहरीले सफल अपराध अनुसन्धान गरेको छ ।
त्यस्तै नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गर्ने अभियुक्त तथा घटनालाई मिलाउन खोज्ने व्यक्तिहरू समेतलाई इलाम प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुख्य अभियुक्त माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरी र घटना मिलाउन पीडक पक्षलाई नगद दिने माई नगरपालिका-२ बस्ने ५८ वर्षीय केदारनाथ गिरी, सोही स्थान बस्ने ४३ वर्षीय यादव भन्ने नारायण गिरी र सोही स्थान बस्ने ३८ वर्षीय पाँचथरे भन्ने तुलाधर अर्याल रहेका छन् ।
गत चैत ६ गते साँझ ६ः३० बजे माई नगरपालिका २ सितलीस्थित चिया बगानमा नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भनी पीडितका आमाले जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् ।
जाहेरी दिनासाथ प्रहरी निरीक्षक सञ्जीव बोगटीको कमान्डमा प्रहरी टोली खटिएर सोही दिन इलाम र झापाको सिमाना सुखानीमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
त्यस्तै गत फागुन ३ गते राति मृत फेला परेका इलाम नगरपालिका(४ भित्ते बस्ने ६७ वर्षीय देउप्रसाद चाम्लिङ राईको हत्यामा संलग्न सन्दकपुर-१ छरछरे बस्ने ३२ वर्षीय राम राई र सोही ठाउँका २९ वर्षीय बिरेन भन्ने वीरेन्द्र राईलाई एक महिनापछि गत चैत ३ गते पक्राउ गर्न सफल भएको छ । प्रहरीले जघन्य खालका चार वटा हत्या र एउटा बलात्कारको सफल अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्न सफल भएको हो ।
अपराध अनुसन्धानमा इलाम प्रहरी तदारुकताका साथ लागेको प्रहरी उपरीक्षक कोइरालाले बताए । लागू औषधको समस्या बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए । माघ २३ देखि बैशाख २३ सम्मको आफ्नो तीन महिने कार्य प्रगति समीक्षासहित सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सञ्जीव बोगटीले अहिले खासगरी इलाममा कर्तव्य ज्यान , जवर्जस्ती करणीजस्ता अपराध बढेको परिप्रेक्ष्यमा प्रहरीले क्वीक एक्सन सञ्चालन गरिरहेको जानकारी दिए ।
उनले कुनै पनि घटनाको सूक्ष्म अनुसन्धान गरेर जरोसम्म पुगेर प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जानकारी दिए । समाजमा घटिरहने यस किसिमका घटनाहरूलाई हुन नदिन जनचेतना , गस्ती , प्रचार प्रसार जस्ता कार्यहरू पनि गर्दै आएको उनको भनाई छ ।
गत माघ २० देखि चैत १८ गतेसम्म जवर्जस्ती करणीका ३ वटा मुद्दा दर्ता भएकोमा पाँच जना पक्राउ परेका छन् भने एक जना फरार छन् । त्यस्तै सोही अवधिमा लागू औषधका ६ वटा मुद्दा दर्ता भएका छन् ।
लागू औषधको कारोबारमा संलग्न ८ जना पक्राउ परेका छन् भने एक जना फरार छन् । प्रहरीले ५ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर , लागू औषधजस्तो देखिने सेतो धुलो १ ग्राम २० मिलिग्राम , लागू औषधजस्तो देखिने कालो गिलो (कानी) ३ ग्राम ३९० मिलिग्राम र मे. १ च ४५२५ नम्बरको पिकअप बरामद गरेको छ ।
इलाम प्रहरीले दर्ता भएका कसूरहरुका अभियुक्तहरूलाई प्रभावकारी रुपमा पक्राउ गर्न सफल भएको देखिएको छ । माघ २० देखि चैत १८ सम्म दर्ता कसूरहरुको सङ्ख्या २५ रहेकोमा २० जना अभियुक्त पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
जुन प्रतिशतको आधारमा ८० प्रतिशत हो । त्यस्तै माघ २० देखि चैत १८ सम्म दर्ता कसूरहरुको अभियुक्त सङ्ख्या ४० रहेकोमा ३४ जना पक्राउ परेका छन् । ६ जना फरार छन् । ८५ प्रतिशत अभियुक्तलाई पक्राउ गर्न सफल भएको इलाम प्रहरीले जनाएको छ ।