
झापा । बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिम्सटेक) को छैटौं शिखर सम्मेलन यही अप्रिल ४ मा थाइल्यान्डको बैंककमा ‘समृद्ध, लचिलो र खुला बिम्स्टेक विषयवस्तुमा आयोजना हुने भएको छ ।
सन् २०२२ मा कोलम्बोमा भर्चुअल रूपमा आयोजित पाँचौं शिखर सम्मेलन भएको तीन वर्षपछि आयोजित यो शिखर सम्मेलनअघि भोलि अर्थात अप्रिल २ मा बिम्सटेक वरिष्ठ अधिकारीहरूको बैठक र पर्सि बिम्सटेक विदेश वा बाह्य मामिला मन्त्रीहरूको बैठक हुनेछ ।
शिखर सम्मेलनको उद्देश्य साझा सुरक्षा र विकासका चुनौतीहरू सामना गर्न सात सदस्य राष्ट्रहरू–बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड–बीच सहकार्यलाई सुदृढ बनाउनु हो ।
यसमा नेताहरूको दृष्टिकोण र निर्देशनहरू प्रतिबिम्बित गर्ने छैटौं बिम्सटेक शिखर सम्मेलन घोषणापत्र र सदस्य राष्ट्रहरूबीच भविष्यको सहयोगका लागि अग्रणी मार्गचित्र बैंकक दृष्टिकोण–२०३० सहितको एजेन्डा समावेश हुनेछ ।
हस्ताक्षरका लागि तय गरिएका प्रमुख सम्झौताहरूमा व्यापार र यात्रा बढाउन बङ्गालको खाडीमा कार्गो र यात्रु यातायात बढाउने उद्देश्यले समुद्री यातायात सहयोग सम्झौता समावेश छ ।
शिखर सम्मेलनले कृषि र खाद्य सुरक्षा, कनेक्टिभिटी, वातावरण र जलवायु परिवर्तन, जनता–जनता सम्पर्क, विज्ञान, प्रविधि र नवप्रवर्तन, सुरक्षा र व्यापार, लगानी र विकास, नीलो अर्थतन्त्र र विपद् व्यवस्थापन लगायत आठ उप–क्षेत्रसहित सात प्रमुख क्षेत्रमा यसको भविष्यको एजेन्डालाई आकार दिन सहयोग पुग्ने विश्वास छ ।