
- उमानाथ भण्डारी
चुलाचुली । इलाम जिल्लाको दक्षिणी भेगमा अवस्थित चुलाचुली गाउँपालिकाले समयको माग र आवश्यकता अनुसार सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै लगेको छ ।
कक्षा कोठालाई प्रविधिसँग जोड्नुका साथै आइसिटी ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालयसमेत सञ्चालनमा ल्याएको छ । बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरेर उज्जवल भविष्यको आधारशीला निर्माण गर्न सो गाउँपालिका निरन्तर प्रयासरत रहेको पाइएको हो ।
राज्य पुनः संरचना अघि चुलाचुली र साकफारा गाउँ विकास समिति रहेको हालको चुलाचुली गाउँपालिकाको कूल क्षेत्रफल १०८ दशमलव ४६ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । पूर्वपश्चिम राजमार्गसँग कच्ची सडकले मात्र जोडिएको यस गाउँपालिकामा जिल्लाको कूल जनसंख्याको करिव ७ दशमलव ङ२ प्रतिशत जनसंख्या बसोबास गर्ने पालिकासँग तथ्याङ्क छ ।
सो गाउँपालिकामा सामुदायिक विद्यालय अन्तगत ८ वटा माध्यमिक र १२ वटा आधारभूत विद्यालय छन् भने संस्थागत तर्फ २ वटा माध्यमिक र ५ वटा आधारभुत विद्यालय छन् । पालिकाका ६ वटै वडामा २६ वटा बाल विकास केन्द्र सञ्चालनमा रहेका र त्यहाँ ५ हजार हाराहारी नानीबाबुहरु प्रारम्भिक शिक्षा लिइरहेको तथ्याङ्क छ ।
पालिकाले शिक्षा क्षेत्रको विकासका लागि चालू आर्थिक वर्षमा आन्तरिक स्रोेतबाट १ करोड ६० लाख र सशर्त तर्फको १२ करोड गरी १३ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम पालिकाको कूल बजेटको ३० प्रतिशत रकम रहेको पालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद मिश्र बताउँछन् । विद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्न आन्तरिक स्रोतबाट २२ जनालाई नियुक्ति गरेर विद्यालयको पठनपाठनलाई नियमित गरेको उनको भनाई छ ।
पालिकाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि आवश्यक बजेटको व्यवस्थापन गरेर विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले बताए । गाउँबासीको उज्वल भविष्यको आधारशिलाका लागि चुलाचुली गाउँपालिकामा गुणस्तर शिक्षातर्फ आफूहरू लागिपरेको अध्यक्ष केरुङको भनाई छ ।
अन्य क्षेत्रबाट चुलाचुली गाउँपालिकामा बुहारी भएर आउनेका लागि निःशुल्क बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विध्यार्थीका लागि प्रत्येक वडाबाट २ जना र पालिकाको तर्फबाट थप २ जना गरी १४ जनालाई छात्रवृत्तिमा सिटिइभिटीमा सिभिल इन्जिनियरिङ ३ वर्षे डिप्लो कोर्ष गराइरहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मिश्रको भनाई छ ।
विद्यालय शिक्षामा पहिलेको भन्दा धेरै परिवर्तन भएको छ । विद्यालयको शैक्षिक सुधारका लागि पालिकाले धेरै नै सहयोग पुर्याएको छ । तर सामुदायिक विद्यालयको सुधारका लागि एकपक्ष मात्र लागेर हुँदैन ।
सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारको सँगसँगै अंग्रेजी माध्यमबाट अध्याप गराउन थालेपछि सामुदायिक विद्यालय प्रति विध्यार्थीको आकर्षण बढ्न थालेको हो । तर अझै पनि शिक्षाको गुणस्तरमा सुधार, प्रविधिको पहुँचमा विस्तार र ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच सुनिश्चित गर्नु प्रमुख चुनौतीका रुपमा रहेका छन् । शिक्षामा प्रविधिको थप उपयोग, शिक्षकहरूको क्षमता विकास र विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्न आश्यक छ ।