२०८१ चैत २०, बुधवार , ०३:५८:५९ बजे

Sajhamanch
'

धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान

आइतवार, चैत १७, २०८१

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरेको खुलेको छ ।

जबरा प्रतिनिधि सभा सदस्य हुन् । उनी पक्राउ परेको सूचना नेपाल प्रहरीले सभामुख देवराज घिमिरे र संघीय संसद् सचिवालयलाई दिइसकेको छ । जहाँ फौजदारी अभियोगमा पक्राउ परेको उल्लेख छ ।

शुक्रबारको तिनकुने क्षेत्रमा राजावादीले प्रदर्शन गरेका थिए ।

त्यसक्रममा भएको हिंसात्मक गतिविधिको विवरण समेत उल्लेख गरेर संसद सचिवालयलाई सूचना दिइएको छ । जहाँ प्रहरीले जबरामाथि फौजदारी अभियोगमा अनुसन्धान भइराखेको उल्लेख छ ।

नेपालको संविधानको धारा १०३ मा सांसद पक्राउ परेपछि त्यसको सूचना सभामुख र संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ ।

संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गर्न नपाइने उल्लेख छ । तर, फौजदारी अभियोगमा पक्राउ गर्न भने संविधानले रोकेको छैन ।

‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ,’ संविधानको धारा १०३ को उपधारा ६ मा उल्लेख छ ।

यसअनुसार सभामुखले धवल पक्राउ परेकोबारे संसदलाई जानकारी समेत गराउँदैछन् ।

सम्बन्धित खबर