
काठमाडौं । काठमाडौं उपत्यकामा गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू भएको छ । गणतन्त्रका पक्षमा समाजवादी मोर्चा नेपालको काठमाडौंको प्रदर्शनीमार्ग र राजतन्त्र पक्षधरहरूको नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन शुरू भएको छ ।
प्रदर्शन शुरू हुनुअघि दुवै पक्षले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट र्याली र जुलुस निकालेका छन् । दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले विशेषगरी तीनकुने–बानेश्वर सडकमा कडाइ गरेको छ । यस्तै गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा गाडी चलाउन रोक लगाइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले उपत्यकाका प्रमुख चोकहरूमा प्रहरीको बाक्लो तैनाथी रहेको र भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको बताए।