२०८१ चैत १७, आइतवार , ०९:५५:२४ बजे

Sajhamanch
'

‘कोशी पर्यटन वर्ष’ : यस्ता छन् ८२ पर्यटकीय गन्तव्य

शुक्रवार, चैत १५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले मनाउन लागेको ‘कोशी पर्यटन वर्ष २०८२’ का लागि ८२ पर्यटकीय गन्तव्य घोषणा गरिएको थियो । ‘८२ सालका लागि ८२ पर्यटकीय गन्तव्य’ सूचीमा परेका गन्तव्य कस्ता छन् त ?

कोशी प्रदेशमा नेपालकै होचो क्षेत्र झापाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासमेत पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमाल कोशी प्रदेशमा रहेका छन् ।

पाथिभरा, बराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुरगढी, हिलिहाङ, हतुवागढ़ी, विराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङलुङ, तुवाचुङ, जायजुङ माङसेबुङ, तिम्बुङ पोखरी, सभापोखरी, गुफापोखरी जस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरु गन्तव्यका रुपमा रहेका छन् ।

त्यस्तै, सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष घुम्नैपर्ने ठाउँमा सूचीकृत गरिएको छ ।

पोकली झरना, ह्यात्रुङ झरना, सन्दकपुर, माइपोखरी कन्याम, श्रीअन्तु, नाम्चे, पाताले, भेडेटार, नमस्ते झरना, हिले, तीनजुरे मिल्के जलजले, जेफाले, प्याराग्लाइडिङ, तमोर तथा कोशी ¥याफ्टिङ कोशी पर्यटन वर्षका गन्तव्य हुन् ।

हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोइङ, कायाकिंग, प्याराग्लाइडिङ आदि साहसिक पर्यटनमार्फत गुणस्तरीय पर्यटकहरूलाई भित्र्याउन सकिने सरकारको विश्वास छ ।

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट विनियोजन भएको छ ।

२०८२ सालका लागि ८२ स्थान छनोट गरेर पर्यटन वर्ष घोषणा गरिएको उनले बताए । पर्यटन वर्षका लागि सरकारले १० करोड रकम बजेट विनियोजन गरेको छ । १६ लाख पर्यटक भित्र्याउने योजनासहित ‘रमणीय कोशी’ भन्ने नाराका साथ भ्रमण वर्ष घोषणा गरिएको छ ।

एकै स्थानमा २८ प्रजातिका गुराँस फूल्ने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रबाट यही चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी पर्यटन वर्षको उद्घाटन गर्दै छन् ।

सम्बन्धित खबर