
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जीडीपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो ।
कार्यालयका अनुसार दोस्रो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात, निर्माण क्षेत्र, कृषि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन् ।
यस अवधिमा शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ ।
कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये विद्युत् तथा ग्यास क्षेत्रमा चार दशमलव आठ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा दुई दशमलव सात प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ ।
मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै १४ दशमलव दुई प्रतिशत वृद्धिदर रहेको छ भने खानी तथा उत्खनन क्षेत्र नौ दशमलव पाँच प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।
यसैगरी निर्माण सामग्रीहरूको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर नौ दशमलव एक प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
उत्पादनमूलक उद्योगको वृद्धिदर सात दशमलव चार प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिका कारण वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर छ दशमलव छ प्रतिशत हुने अनुमान गरिएको छ ।
व्यापार क्षेत्रको वृद्धिदर छ दशमलव एक र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर चार दशमलव नौ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
देशको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्रका रूपमा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण केही विस्तार देखिएको उल्लेख छ ।
यस्तै औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ ।
दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव दुई, स्वास्थ्य तीन दशमलव एक, घरजग्गा कारोबार तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।