२०८१ चैत १५, शुक्रवार , ११:०१:०९ बजे

Sajhamanch
'

कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

बुधवार, चैत १३, २०८१

विराटनगर । कोशी प्रदेशमा किसानले अर्थोडक्स चियाको औसत नाफा किलोको ३० रुपैयाँ पाउने गरेको एक अध्ययनले देखाएको छ ।

कोशीमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवं आन्तरिक र वाह्य बजारमा यसको सम्भावना र चुनौती विषयमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार यस्तो तथ्यांक देखिएको हो ।

राष्ट्र बैंकले गरेको स्थलगत सर्वेक्षण क्रममा नमुना छनोटमा परेका किसानबाट लिइएको आम्दानी र खर्च सम्बन्धी विवरणका आधारमा विश्लेषण गर्दा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड नमुना किसानको प्रतिकिलो औसत लागत क्रमशः ४५ दशमलव १६ रुपैयाँ र २४ दशमलव ७२ रुपैयाँ र औसत आम्दानी ७५ दशमलव ५२ र ४८ दशमलव ४४ रुपैयाँ, प्रतिरोपनी औसत आम्दानी १३ हजार ९९१ रुपैयाँ र १० हजार ५७५ रुपैयाँ एवं प्रतिकिलो औसत मुनाफा ३० र २४ रुपैयाँ रहेको देखिन्छ ।

१०० उद्योग सञ्चालनमा, ३ अर्ब लगानी

कोशी प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल १०० अर्थोडक्स चिया प्रशोधन उद्योग सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०७९र८० मा ७८ लाख ३८ हजार ९४६ किलो प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो । जसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको हिस्सा क्रमशः ११ दशमलव ९ र ८८ दशमलव १ प्रतिशत रहेको देखिन्छ ।

अध्ययनमा सहभागी अर्थोडक्स चिया उद्योगले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियो पत्ताको प्रतिकिलो औसत खरिद/लागत मूल्य ५४ दशमलव ९३ रुपैयाँ छ ।

यसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगको प्रतिकिलो औसत खरिद/लागत मूल्य क्रमशः ८७ र ४९ दशमलव ३५ रुपैयाँ छ ।

कति छ बजार मूल्य ?

अध्ययन अनुसार प्रशोधित अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको आन्तरिक बजार भाउ किलोको ९४१ दशममलव ६० रुपैयाँ र अन्तर्राष्ट्रिय बजार मूल्य ८०१ दशमलव ५१ रुपैयाँ रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः ४३३ दशमलव ७१ र ४०८ दशमलव ३१ रुपैयाँमात्र रहेको पाइएको छ ।

औसतमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको प्रतिकिलो बिक्री मूल्य क्रमशः ८२३ दशमलव १४ र ४११ दशमलव १२ रुपैयाँ रहेको छ ।

८८ प्रतिशत बढी भारत निर्यात, बजार अधिकांश अन्तर्राष्ट्रिय

अर्थोडक्स चिया उद्योगबाट उत्पादित अर्थोडक्स चियामध्ये ८८ दशमलव ६ प्रतिशत भारत तथा तेस्रो मुलुक निर्यात हुने गरेको छ भने ११ दशमलव ४ प्रतिशत आन्तरिक बजारमा बिक्री हुने गरेको छ ।

अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१ दशमलव ६३ प्रतिशत छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा छ ।

प्रशोधित अर्थोडक्स चियाको बिक्री आय २ अर्ब ५७ करोड ५५ लाख २१ हजार ९१३ रुपैयाँ छ, जसमा निर्यात हिस्सा ८६ दशमलव ७२ प्रतिशत छ । यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा निर्भर रहेको देखिन्छ ।

आव २०७९/८० मा कोशी प्रदेशमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरूको औसत क्षमता उपयोग ५६ दशमलव २१ प्रतिशत छ । उद्योगहरू कम क्षमतामा सञ्चालन हुनुका प्रमुख कारणमा कच्चापदार्थ अभाव, विद्युत् आपूर्तिमा अनियमितता, प्राविधिक र दक्ष जनशक्ति अभाव, मागमा कमी लगायत छन् ।

अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगमा लगानीको प्रतिफल दर क्रमश १३ दशमलव ५ र १० दशमलव ८० प्रतिशत छ, जसले सर्टिफाइड उद्योगले उच्च प्रतिफल दिने देखाउने अध्ययनले देखाएको छ ।

‘लाभ लागत अनुपात अर्गानिक सर्टिफाइड उद्योगमा १.२२ः१ र अर्गानिक अनसर्टिफाइडमा १.१८ः१ रहेको छ, जसले अर्गानिक सर्टिफाइड उद्योग आर्थिक रूपमा लाभदायक हुने स्पष्ट हुन्छ,’ अध्ययनले औंल्याएको छ ।

कस्तो छ मुनाफाको अवस्था ?

अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगको बिक्री आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १८ दशमलव ५० र १५ दशमलव ७० तथा कुल आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १७ दशमलव ८७ र १५ दशमलव ५३ रहेको अध्ययनको निष्कर्ष छ ।

अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको प्रतिकिलो उत्पादन लागत क्रमशः ६९५ दशमलव ६२ र ३३६ दशमलव ७४ रुपैयाँ रहेको छ भने प्रतिकिलो मुनाफा क्रमशः १५१ दशमलव ८७ र ६४ दशमलव ५५ रुपैयाँ छ ।

अर्गानिक सर्टिफाइड चिया उत्पादन लागत अर्गानिक अनसर्टिफाइड चियाको तुलनामा शतप्रतिशतले बढी भए तापनि मुनाफा १३५ प्रतिशतले बढी रहेको छ ।

अर्गानिक सर्टिफाइड उद्योगमा प्रतिउद्योग औसतमा ४४ जना र अर्गानिक अनसर्टिफाइड उद्योगमा प्रतिउद्योग औसतमा २४ जनाले रोजगारी प्राप्त गरेका छन् । त्यसैगरी अर्थोडक्स चिया खेतीतर्फ प्रति रोपनी २ जनाले रोजगारी प्राप्त गरेको देखिन्छ ।

कोशी प्रदेशमा अर्थोडक्स चिया उत्पादनले (चियापत्ता प्रशोधित चिया) कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ० दशमलव ०५ प्रतिशत योगदानमात्र पुर्‍याएको देखिन्छ भने कोशी प्रदेशको जीडीपीमा यसको योगदान ० दशमलव ३३ प्रतिशत छ ।

अध्ययनले भनेको छ, ‘अर्थोडक्स चियाको उत्पादन परिमाण १०० प्रतिशतले वृद्धि हुदाँ निर्यात परिमाण ९४ प्रतिशत र यस्तो चियाको निर्यात मूल्य १०० वृद्धि हुदाँ निर्यात परिमाण ६९ प्रतिशतले बढ्ने पाइएको छ ।’

नमुना छनोटमा परेका अर्थोडक्स चिया खेती गर्ने किसानमध्ये ७ प्रतिशतले मात्र सरकारबाट कृषि अनुदान प्राप्त गरेको देखिएको छ भने ८८ प्रतिशत किसानले तालिम प्राप्त गरेका छन ।

अर्गानिक सर्टिफाइड अर्थोडक्स चिया र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चिया खेती गर्ने किसानबीच प्रतिकिलो हरियोपत्ता चिया बिक्री आयमा भिन्नता रहेको छैन भन्ने परिकल्पना परीक्षणका क्रममा अस्वीकृत भएको छ ।

अर्गानिक सर्टिफाइड किसानको उत्पादनमा सर्टिफिकेसनले पाएको मान्यता र गुणस्तरका कारण प्रतिकिलो हरियोपत्ता चियामा उच्च मूल्य प्राप्त गर्ने भएकाले किसानहरूको बिक्री आय बढाउन सहयोग पुर्‍याएको छ ।

राष्ट्र बैंकको अध्ययनमा कुल ८४ अर्थोडक्स चिया उद्योग र ४२ अर्थोडक्स चिया खेती गर्ने किसान समावेश छन् । अध्ययनमा सहभागी उद्योग र किसानबाट प्राप्त तथ्यांक तथा द्वितीय स्रोतबाट प्राप्त तथ्यांक विश्लेषण गरी राष्ट्र बैंकले प्रतिवेदन तयार गरेको हो ।

सम्बन्धित खबर