२०८१ चैत १२, मङ्गलवार , ०४:५८:४५ बजे

Sajhamanch
'

आन्तरिक बसाइँसराइ प्रवृत्ति : सहरमा थुप्रिँदै जनसंख्या

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । नेपालमा पछिल्ला दशकमा सहर केन्द्रित आन्तरिक बसाइँसराइ ह्वात्तै बढेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार आन्तरिक बसाइँसराइ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । २०७८ सालको जनगणनामा आधारित प्रतिवेदनले ठूला सहर केन्द्रित बसाइँबसाइ दर अत्यधिक रहेको देखिएको छ ।

बागमती प्रदेशमा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र र सहरी क्षेत्रबाट पनि सहरी क्षेत्रकै आयतन ९संख्या० समेत बढ्दो क्रममा रहेको देखिन्छ । यस प्रदेशमा ग्रामीणबाट सहरी बसाइँसराइ दर ४९ दशमलव ७ प्रतिशत र सहरबाट सहरमै बसाइँ सर्नेको संख्या ४४ दशमलव ९ प्रतिशत रहेको देखिएको छ ।

यसको कारण साना सहरबाट ठूला सहरतर्फ खासगरी काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेशकै अन्य सहरबाट बसाइँसराइको संख्या अत्यधिक भएको देखिएको छ ।

समग्र देशको प्रवृत्ति हेर्दा आन्तरिक बसाइँसराइ दर २९ दशमलव २ प्रतिशत रहेको छ । सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने अर्थात् मूलथलो छाड्ने जनसंख्या पहाडमा बढी देखिएको छ । जहाँबाट ३२ प्रतिशत मानिस बसाइँसराइ गरेको देखिएको छ ।

दोस्रो स्थानमा तराई छ । तराईबाट २८ दशमलव ९ प्रतिशत र हिमाली भेगबाट १३ दशमलव ८९ प्रतिशत मानिसले थातथलो छाड्ने गरेको पाइएको छ । पहाडी भेगका काठमाडौं, पोखरा र तराई भेगका चितवनमा जनसंख्या अधिक बढ्नुमा आन्तरिक बसाइँसराइ मुख्य कारण देखिएको छ ।

जिल्लागत हेर्दा सबैभन्दा कम बसाइँसराइ भएका १२ जिल्लामा पर्सा, रौतहट, नवलपरासी पूर्वरपश्चिम, भक्तपुर, ललितपुर, कञ्चनपुर, काठमाडौं, कैलाली, रुपन्देही, बाँके र कपिलवस्तु छन् । यी जिल्लामा १० प्रतिशतभन्दा कम मानिस जिल्ला छाडेर अन्यन्त्र सरेको पाइएको छ ।

किन बढिरहेको छ बसाइँसराइ ?

कार्यालयका अनुसार २५ दशमलव ९ प्रतिशत मानिस आफन्तसँग आश्रित भएर बसाइँ सर्ने गरेको पाइएको छ । विवाहपछि बसाइँ सर्नुपर्ने बाध्यतामा २४ दशमलव ९ प्रतिशत जनसंख्या रहेको देखिन्छ । कामको अवसरका कारण १९ दशमलव २ प्रतिशत, अध्ययन र तालिमका कारण १४ दशमलव १ प्रतिशत मानिस बसाइँसराइ गरेको देखिन्छ ।

प्रदेशगत विश्लेषण गर्दा बागमती र गण्डकीमा कामको अवसरका कारण धेरै मानिस बसाइँसराइ गरेको पाइएको छ । अन्य प्रदेशमा भने विवाह मुख्य कारण मानिएको छ ।

उमेर अनुसार हेर्दा चार वर्षमुनि र ७५ वर्षभन्दा माथिका व्यक्ति आश्रित भएर, २० देखि २४ वर्षका महिला विवाहका कारण र ३५ देखि ३९ वर्ष उमेर समुहका धेरै मानिस कामका कारण बसाइँ सरेको पाइन्छ ।

सम्बन्धित खबर