
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध राम्रो भएर अघि बढ्नेमा दुईमत नभएको जिकिर गरेका छन् ।
मंगलबार सुजाता कोइरालाद्वारा लेखिएको ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीसँग आफ्नो जेलदेखिकै सम्बन्ध रहेको र अहिले त्यो सम्बन्ध झनै राम्रो हुँदै गएको उल्लेख गरे ।
‘ओलीजी र कांग्रेस पार्टीबीच सम्बन्ध समधुर भएको छ । जेलभित्र जेल छ । सेन्ट्रल जेलमा गोलघर भन्ने ठाउँमा छ । उहाँ त्यस्तो ठाउँमा बस्नुभएको मान्छे हो,’ देउवाले भने, ‘राजनीतिक झगडा आफ्नो ठाउँमा छ । तर, उहाँ जेलमेट पनि भएको पनि हो । हाम्रो सम्बन्ध राम्रो हुँदै आयो । अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुईमत छैन । कांग्रेसको तर्फबाट उहाँलाई पूर्ण समर्थन छ ।’
उनले स्वं गिरिजाप्रसाद कोइरालासँग आफ्नो सम्बन्धमा धेरै उतारचढाव आएको पनि सुनाए ।
‘गिरिजाप्रसाद कोइराला र मेरो सम्बन्धमा धेरै उतारचढाव आए । उहाँले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोलेँ । त्यसपछि फेरि एक भएर हामी हिँड्यौं,’ देउवाले भने।
देउवाका अनुसार उनले गिरिजाप्रसाद कोइरालालाई ललितपुरको नख्खु जेलमा पहिलोपटक चिनेका थिए ।
‘मैले उहाँलाई पहिला चिनेको चाहिँ नख्खु जेलमा हो । उहाँ जुझारु मान्छे हुनुहुन्थ्यो,’ देउवाले भने । साथै, उनले कोइरालाजस्तो कहिल्यै नथाक्ने व्यक्ति आफूले नदेखेको पनि सुनाए ।
‘उहाँ (गिरिजाप्रसाद कोइराला) सँग धेरै काम गर्ने मौका पाएँ । उहाँ कहिल्यै नथाक्ने मान्छे हो । मेचीदेखि महाकालीसम्म दौडिएको दौडिएकै गर्ने मान्छे । यस्तो नथाक्ने मान्छे मैले कहिल्यै देखेकै छैन,’ देउवाले भने ।
आफू पार्टी सभापति हुनुमा कोइरालाकै भूमिका रहेको उनले बताए ।