
झापा । झापामा आठ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्ममा ८७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। ती दुर्घटनामा एक हजार ३९६ जना घाइते भएका छन् ।
साउनमा १० जना, भदौमा ६ जना, असोजमा ११ जना, कात्तिकमा १४ जना, मंसिमा १० जना, पुस, माघ र फागुनमा पाँच/पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
यता, कार्यालयले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार ४५९ वटा सवारी साधनलाई कार्यालयले कारबाही गरेको छ ।
ती सवारी साधनलाई कारबाही गरी रू. दुई करोड ६६ लाख ६१ हजार राजश्व समेत संकलन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए।
दुर्घटना न्यूनीकरणका लागि कार्यालयले जिल्लाका विभिन्न स्थानमा तीन हजार ७८२ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ भने ती कार्यक्रमबाट एक लाख ५५ हजार ५३ जना लाभान्वित भएको कार्यालयले जनाएको छ ।
उता, झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम समेत सञ्चालनमा ल्याइएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याएको ट्राफिक प्रमुख पौडेलले बताए।
सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिबृद्धिका लागि शिक्षकमार्फत् विद्यार्थीसम्म सवारी नियमबारे ज्ञान प्रदान गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए।
“जिल्लाभरिका पालिकासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दैछौं”, उनले भने, “झापाका १५ वटै पालिकामा प्रस्ताव पेश गरिएको छ ।” स्थानीय तहको आयोजना र जिल्ला ट्राफिक कार्यालय झापाको समन्वयमा कार्यक्रम गरिने उनले बताए। तालिमपछि उनीहरुलाई ‘ट्राफिक शिक्षक’का रुपमा छनोट गरिएको/गरिने उनले बताए।