
काठमाडौं । संविधानसभा परिषद् नेपालले संविधानविरुद्ध हुने गतिविधि सह्य नहुने बताएको छ । परिषद्का अध्यक्ष अनन्त पौडेलले विज्ञप्ति निकालेर राजावादीका गतिविधि सह्य नहुने बताएका हुन ।
संविधानका व्यवस्थामाथि प्रश्न उठाउँदै प्रदर्शन भइरहेको भन्दै परिषद्ले आपत्ति जनाएको छ । सार्वभौम नागरिकका नाममा जारी संविधानले नेपालको स्वतन्त्रता, अधिकारलाई आत्मसात् गरेको परिषद्को भनाइ छ । परिषद्ले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, नागरिकको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको सुनिश्चितता गरेको जनाएको छ ।
विज्ञप्तिमा नेपाली नागरिकको सङ्घर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानलाई सम्वर्द्ध, प्रवर्द्धन र संरक्षणका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी एकजुट हुनु आवश्यक रहेको उल्लेख छ ।
भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली नागरिकलाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरू जिम्मेवार बन्न आवश्यक देखिएको पनि अध्यक्ष पौडेलले बताएका छन् ।
अहिले देखिएका गतिविधिले राजनीतिक अस्थिरता सिर्जना गर्ने, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने र नेपाली समाजलाई विखण्डन गर्ने षड्यन्त्र मात्र नभई संविधानको मर्म र भावना विपरीत संवैधानिक व्यवस्थामाथि नै हमला गर्ने कार्य रहेको परिषद्को ठहर छ ।