२०८१ चैत १३, बुधवार , ०२:०९:५३ बजे

Sajhamanch
'

आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा

सोमवार, चैत ११, २०८१

झापा । चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने घोषणा गरेको छ । बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै चीनका उच्च नेताले विखण्डनका बावजुद चीनले आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा धेरै चरणको कर लगाएको केही समयपछि चीन विकास मञ्चको बैठक भएको बीबीसीले जनाएको छ ।

अमेरिकी करवृद्धि र त्यसको बदलामा आउने रक्षात्मक निर्णयले विश्वभर आर्थिक चुनौतीहरू बढेकोले विश्वव्यापीरूपमा नै मूल्यवृद्धिको सम्भावनालाई बढाएको विज्ञहरुले बताएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली कियाङले अहिले चीन इतिहासको कठिन घडीमा भए पनि सही पक्ष, निष्पक्षता र न्यायमा दृढतापूर्वक उभिने बताएका छन् ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलगायत प्रमुख व्यापारिक नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा प्रधानमन्त्री लीले चीनले आर्थिक भूमण्डलीकरणको सही दिशाको पालना गर्ने, सही बहुपक्षीयताको अभ्यास गर्ने र स्थिरता र निश्चितताको लागि एक शक्ति बन्ने प्रयास गर्ने बताएका हुन ।

अमेरिकासँग व्यापार वार्ताका लागि संलग्न हुन चीनले खुला दृष्टिकोण व्यक्त गरेको छ । अमेरिकी सिनेटर स्टिभ डेन्सले बेइजिङ भ्रमणका क्रममा आर्थिक मामिला हेर्ने चीनका उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गरेका थिए।

उनले प्रधानमन्त्री लीसँग पनि भेट गर्ने कार्यक्रम छ । चीनले यस वर्ष पाँच प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ, जुन गएको वर्षको जस्तै हो र धेरै अर्थशास्त्रीहरूले यसलाई महत्त्वाकाङ्क्षी मानेका छन् ।

सम्बन्धित खबर