
झापा । इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन् ।
गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका सेन्टरलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बालकसहित सात जना मारिएका र ४० जना घाइते भएको जनाएको छ । लेबनानमा हिज्बुल्लाह र प्यालेस्टाइनी समूहसहित कयौँ सशस्त्र समूह सक्रिय छन् । हिज्बुल्लाहले आफू युद्धविराममा प्रतिवद्ध रहेको जवाफ दिएको छ ।
यसैबीच लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणको निन्दा गरेका छन् । लेबनानको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी द्वन्द्व निम्त्याएको आरोप लगाएको छ । राष्ट्रपति जोसेफले लेबनानको ‘राष्ट्रिय हित’ लाई जोगाउन संयमता अपनाउन आह्वान गरेका छन् ।