
झापा । झापा बिर्तामोडका उमेश राई (जीवन) ले १७ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । गोर्खाली फिटनेसबाट सहभागी भएका उनले दोस्रोपटक उपाधि जितेका हुन् ।
काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले बिर्तामोडकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् ।
उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे ।
उनी १६ औँ संस्करणका पनि विजेता हुन् । त्यस्तै, उपविजेता भएका धिमालले नगद ६ लाख हात पारे । त्यस्तै, तृतीय स्थानमा रहेका दाङ्गका माधव सुवेदीले नगद ३ लाख प्राप्त गरे ।
धर्मश्रीमा दुईपटक उपाधि चुम्ने राई तेश्रो खेलाडी हुन् । यसअघि नरेश महर्जन र सानु गुरुङले दुईपटक उपाधि जितेका थिए ।
नेपालमा व्यायाम क्षेत्रको जननी संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा राई ८० केजीमाथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउन्डमा प्रवेश गरेका थिए ।
त्यस्तै, मोरङ उर्लाबारीका ललित धिमालले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउन्डमा प्रवेश पाएका थिए । ६ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।