
झापा । एशियाली राजमार्गअन्तर्गत झापाको काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नतिको काम सुस्त भएको छ ।
एशियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत यो खण्डमा सडकलाई एशियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ ।
काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ईन्जिनियर सुनिलबाबु पन्तले अहिलेसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताए। उनका अनुसार निर्माण अवधिका आधारमा अहिलेसम्म २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नुपर्ने थियो ।
एभ्रास्कन कालिका जेभीले यो सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो । २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाका प्रमुख पन्तले ठेक्का लिएको कम्पनीलाई निर्माण कार्यमा गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिइएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा सडकको विधिवत् शिलान्यास गर्नुभएको थियो । सडक निर्माण सम्झौताको पहिलो वर्षमा १२ प्रतिशतमात्र प्रगति भएको र यसवर्ष पनि उल्लेखनीय प्रगति हुन नसकेमा आउँदो एक वर्ष १० महिनाभित्रमा आयोजना सम्पन्न गर्न कठिन हुनेछ । कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ । १४३ वटा कल्भर्टमध्ये अहिलेसम्म ९३ वटाको काम भएको छ ।
साना पुल १८ मध्ये १७ वटाको निर्माण भइरहेको छ । निर्माणकार्यमा अत्याधुनिक उपकरणसमेत प्रयोग गरिरहेको कम्पनीको भनाइ छ । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा ३४ अर्ब ९० करोडमा सडकसहित कल्भर्ट र साना पुलको ठेक्का लगाइएको हो ।