
मेचीनगर । घरेलु हिंसा, बलात्कार लगायतमा उत्पीडन र शोषणको चपेटामा नपरुन् र कानुनका कुराहरु पनि जानुन भन्ने उद्देश्यले मेचीनगर नगगरपालिकाले विद्यार्थीहरुलाई कानुनी परामर्श दिएको छ ।
मेचीनगरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ११ का छात्रहरुलाई आज नगगरपालिकाको सभाहलमा कानुनी सचेतना प्रदान गरिएको हो ।
सामुदायिक र संस्थागत विद्यालय कक्षा ११ का करिव १०० जना विद्यार्थीहरुलाई अधिवक्ता लक्ष्मी खनालले प्रशिक्षण दिएकी हुन् ।
उनले घरेलु हिंसा, यौन हिंसा, बलात्कार लगायतका महिलामाथि हुने अनेकन घटनाहरुमा सचेत रहन, उत्पीडन र शोषणमा परेका र त्यस्ता घटनाहरुबाट जोगिन, न्याय दिलाउन, संविधान, कानुन, ऐन, कार्यविधि लगायतका विषयमा विद्यार्थीहरुलाई कानुनी सचेतना दिइन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले गरिवी र अशिक्षाका कारण बालबालिका र किशोरीहरुमा धेरै अप्राकृतिक घटनाहरु भइरहेको अवस्थामा विद्यार्थीहरुलाई सचेत गराउन पनि कानुनी परामर्श र उपचारको विधि सिकाइएको बताइन् ।
नगरपालिकाका न्यायिक समितिका संयोजकसमेत रहेकी उपप्रमुख उप्रेतीले विद्यार्थीहरुलाई न्याय क्षेत्रमा पनि पहुँच पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताइन् ।
सो कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले समावेशी लोकतन्त्रमा समानतामुलक न्याय दिन विशेष गरेर पिछडिएका समुदाय र वर्गहरुका लागि कानुन निर्माण गरिएको बताए ।
‘मानिसलाई नियन्त्रण गर्न कानुन बनेको हो’ वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले भने– ‘कानुनको मुख्य अंग भनेको संविधान हो । कानुन जनताको प्रतिविम्ब । कानुन परिवर्तनशील छ । यसले जनताको अधिकारलाई सुनिश्चत गर्छ ।’
कार्यक्रमको अध्यक्षता सामाजिक विकास समितिका संयोजक ह्दय राजबंशीले गरेका थिए भने कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।