
झापा । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनलाई सुरक्षा नदिए रुसले कुनै पनि बेला युद्ध विराम उल्लङ्घन गर्ने आशङ्का व्यक्त गरेका छन् ।
उनले युक्रेनलाई सुरक्षित नबनाए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि समय युद्ध विराम भङ्ग गर्न सक्ने आशङ्का व्यक्त गरेका हुन ।
उनले रुस र युक्रेनको बीचमा भइरहेको युद्ध रोक्न शान्ति सम्झौता गरेर पूर्ण रूपमा कार्यान्वयन गर्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका हुन ।
बेलायतमा २० भन्दा बढी देशका प्रतिनिधि भेला भएर युक्रेनको सुरक्षाका लागि सेना तयार गर्न गरेको छलफलमा स्टार्मरले यस्तो बताएको बीबीसीले जनाएको छ ।
युद्ध विराम उल्लङ्घन गरेमा आफूलाईसमेत अप्ठेरो पर्ने कुरा रुसले महसूस गर्नु आवश्यक रहेको उनले बताए।
बेलायतमा अहिले भइरहेको सैन्य छलफल युक्रेनलाई कसरी सीमा, आकाश र समुद्रमा नै सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएको स्टार्मरको भनाइ छ । बेलायतले यसअघिदेखि युक्रेनमा सेना पठाउन सक्ने बताउँदै आएको छ ।