२०८१ चैत १३, बुधवार , ०५:५०:०९ बजे

Sajhamanch
'

कर्णाली साकोसमा व्यवसायी महिलालाई उत्प्रेरणा तालिम

शुक्रवार, चैत ८, २०८१

बिर्तामोड । यहाँस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार बिर्तामोडमा मनोशक्ति एवं व्यक्तित्व विकास तथा व्यापार प्रवर्धन तालिम सञ्चालन गरेको छ ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित मनोशक्ति एवं व्यक्तित्व विकास तथा व्यापार प्रवर्धन तालिमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले हाम्रा पेशा व्यवसायहरू किन असफल भइरहेका छन् भन्ने कुराको निक्र्यौल गर्न र यसलाई सफल बनाउने उद्देश्यले व्यवसायी महिलाहरू लक्षित तालिम आयोजना गरिएको बताए ।

व्यवसायीहरुले जुनसुकै व्यवसाय गरे पनि सकारात्मक विचार अति आवश्यक छ भन्दै अध्यक्ष श्रेष्ठले आफूले गरेको पेशा र सञ्चालन गरेको व्यवसायमा अनुभव भएमा मात्र व्यवसाय सफल हुने भनाइ राखेका थिए ।

सबै व्यवसायीहरू सहनशील हुनुपर्ने र सकारात्मक सोचका धनी हुनुपर्ने सुझाउँदै अध्यक्ष श्रेष्ठले मानिसमा सम्बन्धित व्यवसाय गर्न रुचि जागेमा मात्र व्यवसाय सफल हुने बताएका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले कार्यक्रमको सहजीकरण गर्दै पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा आएको ह्रासलाई चिर्न तथा नयाँ कौशलहरु सिकेर व्यापारीहरुलाई आफ्नो व्यापार प्रवद्र्धन गर्नका निमित्त सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

‘व्यवसायी र उद्यमीहरूले आफ्ना परिवारहरूको मात्रै भरथेक गरेका हुँदैनन्, बैंक, वित्तीय संस्था तथा हाम्रोजस्ता सहकारी संस्थाहरुलाई चलायमान बनाएका हुन्छन्’ प्रमुख कार्यकारी अधिकृत याक्सोले भने, ‘हो यिनै वर्गलाई आज हामी व्यवसाय प्रवर्धनको निमित्त तालिम प्रदान गरिरहेका छौं ।’

उक्त तालिमका मुख्य सहजकर्ता अन्तर्राष्ट्रिय उत्प्रेरक डाक्टर बिपी रेग्मीले तालिमको सहजीकरण गर्दै कोरोना महामारीपछि अधिकांश व्यापार व्यवसाय सुस्ताएको कारण हाम्रा आम्दानीहरूमा खुम्चिएको सुनाए । यस्तो हुँदा पनि हामीले व्यवसाय गर्न छोडेका छैनौं, यो नै महत्वपूर्ण कुरा हो भन्दै उनले व्यवसायीहरु निरन्तर आफ्नो कर्ममा जुटेमा सफलता प्राप्त हुने सुझाव दिए ।

डाक्टर रेग्मीले विश्वका अत्यन्त सफल नेतृत्वहरूको कठिन परिश्रम एवं संघर्षका कथाहरू सुनाउँदै सहभागीहरुलाई मन्त्रमुग्ध बनाएका थिए । उनले महात्मा गान्धी, राइट ब्रदर्स लगायत व्यक्तित्वहरूको उदाहरण दिँदै उनीहरुले गरेका अभ्यास र प्राप्त सफलताहरु माथि चर्चा गरेका थिए ।

व्यवसाय सफलताको प्रमुख सूत्र व्यवसायीको मुस्कान हो भन्ने सिद्धान्तलाई चरितार्थ हुने गरी डा. रेमीले विभिन्न नीति कथाहरू सुनाउँदै आफ्नो तालिम सञ्चालन गरेका थिए ।

सो कार्यक्रममा माटो बचाउ अभियानका उपाध्यक्ष अम्बिका घिमिरेले पनि आफ्नो प्रस्तुति राखेकी थिइन् ।

 

सम्बन्धित खबर