
झापा । इजरायलले गाजामा स्थलगत कारबाही तीव्र पारेको छ । हवाई आक्रमणपछि इजरायली सेनाले फेरि प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गर्दै गाजामा स्थलगत कारबाही थालेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली हवाई आक्रमणमा ४३० जनाभन्दा धेरैको ज्यान गएको बताएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम कोरिडोरमा आफ्नो सेना पुगेको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घले देइर अल–बालाहमा रहेको आफ्नो परिसरमा भएको विस्फोटमा आफ्ना एक कर्मचारीसहित दुई जनाको ज्यान गएको बताएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा अनुसन्धान शुरू गरिने बताए पनि इजरायलले भने घटनाको जिम्मेवारी लिएको छैन ।
गाजामा हुन थालेका नयाँ आक्रमणहरूले इजरायल र हमासबीच जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताको अन्त्य भएको सङ्केत गरेको छ ।
हिजो इजरायले हमासको नियन्त्रणमा रहेका बन्धकहरूलाई फिर्ता गर्न अन्तिम चेतावनी दिएको थियो ।
हमासले भने इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भन्दै बन्धक रिहाइ अनिश्चित भएको बताउँदै आएको छ । मध्यस्तकर्ताहरूले पहल गरिरहेका दोस्रो चरणको युद्ध विराम पनि अन्योल भएको छ ।