
झापा । झापामा आगलागीका घटना बढिरहेका बेला सशस्त्र प्रहरीले आगलागीजन्य विपद्को जोखिम न्यूनीकरण कृत्रिम अभ्यास गरेको छ ।
झापा गाउँपालिका-२ झापा बजारमा रहेको त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा सशस्त्र प्रहरीले आगलागी नियन्त्रणसम्वन्धी स्थानीय समुदाय तथा विद्यार्थीहरूलाई सचेतनामूलक डेमो देखाएको हो ।
जिल्ला प्रशासन कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल ,नेपाल प्रहरी र कारितास नेपालको संयुक्त आयोजना तथा झापा गाउँपालिकाको सहकार्यमा सो कार्यक्रम गरिएको हो ।
नमुनाको रुपमा तयार पारिएको घरमा लागेको आगो नियन्त्रण कसरी गर्ने र घरमा भएका मानिसहरूलाई कसरी उद्धार गर्ने भनी अभ्यास गरी सर्वसाधारण र विद्यार्थीलाई सिकाइएको थियो ।
सचेतनामूलक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको प्रमुख आतिथ्य र झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको विशेष आतिथ्य रहेको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी , सशस्त्र प्रहरी बल नेपाल २ नं. गण हेक्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान झापाका प्रमुख कुलचन्द्र नेपाल , वडा अध्यक्षहरू राजकुमार यादव , हिमालकुमार चम्लागाई , सुभाषलाल गणेश, ताहिर मुल्वी , कृष्णप्रसाद राजवंशी , नविनकिशोर थापा , सखिचन्द्र ठाकुर , उद्योग वाणिज्य संघ झापा गाउँपालिका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश, कुमरखोद रेडक्रस सभापति सुन्दरलाल गणेश , समाजसेवी उत्तम सुवेदीलगायतको उपस्थिति रहेको थियो ।