
काठमाडौं । फागुन महिनामा गाडी दुर्घटनामा परेर देशभर २०१ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनमा चार हजार २८९ वटा गाडी दुर्घटना हुँदा २०१ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा १५३ पुरुष, ३३ महिला, १० बालक र पाँच जना बालिका छन् । फागुनमा गाडी दुर्घटनामा ६३६ जना गम्भीर घाइते भएका छन् । यस्तै तीन हजार ४६६ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
फागुन महिनामा सबैभन्दा धेरै २ हजार ४२३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ८०९, बस १८६, टेम्पो २०६ वटा दुर्घटनामा परेका छन् ।
२५८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ । सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले फागुन महिनामा एक लाख १६ हजार २३१ जना चालकलाई कारबाही गरेर नौ करोड ५० लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।