
काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको हो । यसको औपचारिक घोषणा भने भएको छैन ।
सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।
नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व गरिरहेका थिए । तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् ।
प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरु बीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्ने गर्छ ।
यसपटक पनि तीनैजना आकांक्षीले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए । यद्यपि, सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आईजीपी बनाएको छ ।