
मेचीनगर । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका एक हजार ५९२ जना व्यक्तिलाई विभिन्न प्रकृतिको परिचय पत्र प्रदान गरेको छ ।
महिला विकास अधिकृत एवम् कार्यक्रमका फोकल पर्सन जयन्ती खरेलले चालू आर्थिक वर्ष २०८१ को साउनदेखि हालसम्म एक हजार ५९२ जना अपाङ्गता भएका व्यक्तिलाई विभिन्न प्रकृतिको कार्ड प्रदान गरिएको जानकारी दिएकी हुन् ।
नगरका १५ वटै वडाबाट प्रदान गरिएका परिचय पत्रहरुमध्ये ४७४ जनालाई रातो कार्ड, ६१२ जनालाई निलो कार्ड, ४३५ जनालाई पहेलो कार्ड र ७१ जनालाई सेतो कार्ड प्रदान गरिएको फोकल पर्सन खरेलले बताइन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन बीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी पछिल्लो समय अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ ।
एक हजार ९९० जना अपाङ्गता भएका व्यक्तिहरु मध्ये ३९८ जनालाई परिचय पत्र प्रदान गर्ने प्रक्रियामा नै रहेको बताइएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि रोकथाम, पुनस्थापना, जीविकोपार्जन, सशक्तिकरण र सामाजीकीकरण लगायतका कार्यक्रमअघि बढाइएको मेचीनगरका कार्यक्रम संयोजक पदम बराइलीले बताएका छन् ।
सोही कार्यक्रम अन्तरगत गत आठ महिनादेखि अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सेवाहरु प्रदान गरिरहेको छ । नगरस्तरीय अभिमुखीकरण, ९ जना नवदम्पत्तिलाई शुभकामना कार्डसहित सचेतना र कानुनका कुराहरुका विषयमा स्पष्ट पारिने काम भइरहेको बराइलीले बताएका छन् ।
बराइलीका अनुसार घरमा आधारित शिक्षा कार्यक्रम अन्तरगत अति अशक्त ६ जना व्यक्तिलाई शिक्षकले घरैमा गएर पढाउने तयारी गरिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएपछि ५ वर्षदेखि २० वर्षसम्मका अपाङ्गता भएका व्यक्तिहरुलाई एसईई दिएका परिवारका सदस्य, छिमेकी वा नजिकको विद्यालयका शिक्षकबाट पढाउने व्यवस्था गरिने तय भएको छ । हाल अपाङ्गता भएका १५ जना विद्यार्थी विद्यालयमा भर्ना भएका छन् ।
यसैबीच आइतबार र सोमबार अपाङ्गता भएका व्यक्तिहरुको हेरचाह गर्ने परिवारका ३० जना सदस्यहरुलाई सीपमुलक तालिम दिइएको छ । अटिजम र सेभेरल पाल्सी भएका अपाङ्गता व्यक्तिको हेरचाह गर्नेलाई उक्त तालिम दिइएको फोकल पर्सन खरेलले जानकारी दिइन् ।