२०८१ चैत ४, सोमवार , ०४:५३:०३ बजे

Sajhamanch
'

नेपाल प्रहरीको नयाँ आईजीपीबारे आज निर्णय हुँदै, थापा, गिरी र तामाङमध्ये को बन्ला आईजीपी ?

सोमवार, चैत ४, २०८१

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको कार्यकाल आजदेखि सकिँदैछ । नयाँ आईजीपी नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार साँझ मन्त्रिपरिषद् बैठकसमेत बोलाएका छन् । मन्त्रिपरिषदको सोही बैठकले नेपाल प्रहरीको ३१औं आईजीपी नियुक्त गर्ने बताइएको छ ।

नयाँ आईजीपीका लागि ३ जना एआईजी प्रतिस्पर्धामा छन् । अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ आईजीपीको दौडमा छन् ।

अब बन्ने प्रहरी प्रमुखको कार्यकाल करिब ६ महिना १८ भदौ २०८२ सम्ममात्र रहनेछ । ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा गिरी र तामाङभन्दा थापा अगाडि देखिन्छन् ।

२०७९ चैत १० गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई नेपाल प्रहरीको ३०औं महानिरीक्षक बनाएको थियो । उनी ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जान लागेका हुन् ।

उनी २०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । उनकै ब्याचमेटहरू एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अवकाशमा जानेछन् । भट्टराई गत फागुन १३ मा मात्र एआईजी बनेका हुन् । त्यस्तै डीआईजी ध्रुव राउत, भोला रावल र गणेश चन्दले पनि अवकाश पाउँदैछन् ।

प्रहरी नियमावली २०७१ अनुसार प्रहरी महानिरीक्षकको पदमा बढुवा गर्दा एआईजीहरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिलाई बढुवा गर्नुपर्ने उल्लेख गरेको छ ।

आईजीपी नियुक्तिका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गर्ने प्रावधान छ।

सम्बन्धित खबर