२०८१ चैत ३, आइतवार , ०८:३६:५० बजे

Sajhamanch
'

झापामा स्ववियू निर्वाचन : दमकमा ८, मेचीमा ६ जना अध्यक्षका उम्मेदवार

आइतवार, चैत ३, २०८१

झापा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि झापाका क्याम्पसहरूमा दलबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका क्याम्पसहरूमा अध्यक्ष पदका लागि ८ जनासम्मले उम्मेदवारी दिएका छन् ।

सबैभन्दा धेरै दमक बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका हुन् । निशम अधिकारी– अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन , दीपक लिम्बू– स्वतन्त्र , पर्वत बस्नेत–स्वतन्त्र , पेमा डोल्मा तामाङ– अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), प्रविना भट्टराई– अखिल समाजवादी , भूपेन्द्र बस्नेत (भुवन)–स्वतन्त्र , रश्मि उप्रेती– हामी स्वतन्त्र छौ समूह र सायण साम्पाङ राईले नेपाल विद्यार्थी संघबाट उम्मेदवारी दिएका छन् । दमक बहुमुखी क्याम्पसमा अध्यक्षका ८ उम्मेदवारसहित ३३ जनाले उम्मेदवारी दिएका छन् । दमकमा ३७०२ जना विद्यार्थी मतदाता रहेको जनाइएको छ ।

दमकपछि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा ७ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी संघबाट वासुदेव निरौला , राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट कुशल भट्टराई , अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट सुनिराम मुर्मूृ , अर्को अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट उत्तम लोहार , अखिल क्रान्तिकारीबाट अनुप भण्डारी , स्वतन्त्रबाट बिट्टु शाह र मनोज तिम्सिनाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । त्यहाँ अध्यक्षका ७ सहित जम्मा ३७ जनाले उम्मेदवारी दिएका छन् । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १०९१ जना मतदाता रहेका छन् ।

त्यस्तै जिल्लाको सबैभन्दा पुरानो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा ६ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र विद्यार्थी कल्याण परिषद्बाट हेमराज गौतम , नेपाल विद्यार्थी संघबाट निलम कार्की , स्वतन्त्रबाट गौरव कानु , अखिल क्रान्तिकारीबाट शिखर पौड्याल , अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट प्रन्सल मगर र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट अम्बिर अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । २९०५ जना मतदाता रहेको मेची क्याम्पसमा अध्यक्षका ६ सहित ४३ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै गौरादह कृषि क्याम्पसमा अध्यक्षका ३ सहित १९ , गौरादह बहुमुखी क्याम्पसमा अध्यक्षका २ सहित २६ , गौरीगञ्ज क्याम्पसमा अध्यक्षका ३ सहित १८ , सीतारमेश क्याम्पसमा अध्यक्षका ३ सहित २५, शनिश्चरे बहुमुखी क्याम्पसमा अध्यक्षका २ सहित १६ , गरामनी क्याम्पसमा अध्यक्षका ३ सहित १५ , काँकडभिट्टा बहुमुखी क्याम्पसमा अध्यक्षका ३ सहित २४ , त्रिदेव क्याम्पसमा अध्यक्षका ३ सहित १९ , इन्द्रचन्द्र क्याम्पसमा अध्यक्षका ३ सहित २९ र कनकाई आदर्श क्याम्पसमा अध्यक्षका २ सहित २० जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका १३ वटा क्याम्पसमा निर्वाचन हुन लागेको छ । ती क्याम्पसहरूमा ३३२ जना उम्मेदवार प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन् । झापामा १३ हजार ३१९ जना विद्यार्थीहरूले स्ववियू निर्वाचनमा भाग लिने भएका छन् ।

सम्बन्धित खबर