२०८१ चैत ३, आइतवार , ०३:४९:२५ बजे

Sajhamanch
'

हमाससँगको युद्धविराम वार्ता चलिरहेका बेला गाजामा इजरायली हवाई आक्रमण, ९ जनाको ज्यान गयो

आइतवार, चैत ३, २०८१

झापा । गाजाको लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी तीन जना स्थानीय पत्रकारसहित कम्तीमा नौ जना प्यालेस्टिनीको ज्यान गएको छ ।

इजरायली ड्रोन आक्रमण कारमा बज्रिँदा धेरै जना गम्भीर घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

हमास नेताहरूले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरूसँग युद्धविराम वार्ता गरिरहेका बेला यो घटना भएको हो । यो घटनाले गाजामा ठूलो लडाई रोक्ने गरी जनवरी १९ मा भएको युद्धविराम सम्झौताको कमजोरीलाई देखाउँछ ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले युद्धविरामको बाबजुद इजरायली आक्रमणबाट मानिसहरू मारिने क्रम नरोकिएको बताएका छन् ।

जनवरी १९ यता इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको प्यालेस्टिनीहरूको सङ्ख्या १५० जना पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

शुक्रवार हमासले युद्धको स्थायी अन्त्यका लागि युद्धविराम वार्ताको अर्को चरण शुरू गरेमा एक अमेरिकी–इजरायली दोहोरो नागरिकता भएका व्यक्तिलाई रिहा गर्न सहमत भएको बताएको थियो । तर यो प्रस्तावलाई इजरायलले ‘मनोवैज्ञानिक युद्ध’ भनेर खारेज गर्‍यो ।

दोस्रो चरणको वार्ताका लागि मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त गरेपछि हमासले न्यु जर्सीका मूल निवासी, इजरायली सेनामा कार्यरत २१ वर्षीय एडान अलेक्ज्यान्डरलाई रिहा गर्ने प्रस्ताव गरेको बताएको छ ।

इजरायलले युद्धविरामको पहिलो चरणलाई विस्तार गर्न चाहेको बताएको छ भने हमासले दोस्रो चरणअन्तर्गत मात्र बन्धकहरूलाई मुक्त गर्ने कार्य पुनः शुरू गर्ने बताएको छ ।

सम्बन्धित खबर