२०८१ चैत ३, आइतवार , ११:३८:५९ बजे

Sajhamanch
'

मलेसियामा दंगामा उत्रिएका १३ नेपाली पक्राउ

आइतवार, चैत ३, २०८१

काठमाडौं । मलेसियामा दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शुक्रबार बेलुकी ९ः३५ बजेतिर जालान चांकाट जोङको बाटु–८ मा कारको ठक्करबाट मृत्यु भएपछि नेपालीले हूलदंगा गरेका थिए । त्यस क्षेत्रका लगभग १ हजार कामदार घटनास्थलमा भेला भएर ट्राफिक अवरुद्ध गरेका थिए । आन्दोलन गर्ने १ हजारमध्ये १३ जनालाई पक्राउ गरिएको हिलिर पेराकका प्रहरी प्रमुख बकरी जैनल अबिदिनले बताएका छन् ।

प्रहरी प्रमुख बकरी जैनल अबिदिनले भने, ‘तेलुक इन्टान जिल्ला प्रहरी मुख्यालय (आईपीडी)बाट एक टोली व्यवस्था पुनःस्थापित गर्न खटाइएको थियो, बिहान २ बजेसम्ममा स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो, अन्य सबै नेपाली कामदार आ–आफ्नो छात्रावासमा फर्किए ।’

उनका अनुसार पक्राउ परेकामाथि दण्डसंहिताको धारा १४७ अन्तर्गत अनुसन्धान भइरहेको छ । हिट एन्ड रन मुद्दा सडक यातायात ऐन १९८७ को धारा ४१९१० अन्तर्गत पर्दछ ।

पक्राउ परेका सबैलाई चार दिनका लागि हिरासतमा राखिएको छ । उनले थप अनुसन्धानका लागि तेलुक इन्टान मजिस्ट्रेटको अदालतमा निवेदन दिएको बताए । उनले भने, ‘जनताको सुरक्षा कायम राख्न र उपयुक्त कानुनी उपायहरू लागू गर्न अधिकारीहरूले संलग्नहरूविरुद्ध कडा कारबाही गर्नेछन् ।’

जनतालाई घटनाको कुनै पनि जानकारी भएमा अगाडि आउन र अनुसन्धान अधिकारी मोहम्मद स्यामिललाई ०११–१००६ ५८१७ मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन । पक्राउ परेका नेपाली कामदार कार्यरत कम्पनी र उनीहरूको पहिचान खुलाइएको छैन ।

सम्बन्धित खबर