
विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले ४४६ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी राजकुमार ओझाले ४०७ मत प्राप्त गरे । ३९ मतको अन्तरले अध्यक्षमा राई निर्वाचित भएका हुन् ।
दुई प्यानलमा विभाजित एमाले कार्यकर्ताहरु पार्टी अध्यक्ष ओली समूहबाट ओझा अध्यक्षका उम्मेदवार थिए भने नेता बिनोद ढकालको संरक्षणमा राईको नेतृत्वमा प्यानलै उम्मेदवार बनाइएको थियो । ढकाल पूर्वराष्ट्रपति भण्डारी पक्षधर मानिन्छन् ।
अध्यक्षमा राईसहित भण्डारी पक्षका नेताहरूको प्यानल नै निर्वाचित भएको हो । उपाध्यक्षमा सागर थापा ४२२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शान्ति लिम्बू भूजेलले ३९१ मत प्राप्त गरिन् ।
थापा भण्डारी पक्षको प्यानलमा थिए भने भूजेल ओली पक्षीय प्यानमा थिइन् ।
सचिवमा सोमराज थापा निर्वाचित भएका छन् । उनले ४६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी रविन थापाले ३६८ मत प्राप्त गरे ।
उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका छन् । वान्तवाले ४९० र झाले ४१८ मत प्राप्त गरिन् ।
पूर्वराष्ट्रपति भण्डारी पक्ष प्यानलको नेतृत्व विनोद ढकालले रओली समूहको नेतृत्व उपाध्यक्ष गुरु बरालले गरेको बताइन्छ ।